हजुर वरिष्ठ, हस् त नमस्कार!

कोम खत्रीUntitled-1-2

एक त दौडधुपको दैनिकी, त्यसमाथि श्रीमतीजीको ‘छुट्टीमा कहिल्यै कतै घुमाउन लगेन’ भन्ने सधैँको किचलो, कहिलेकाहीँ त साँच्चै दिक्कै लागेर आउँछ भन्या।

‘खप्परमा लेख्या भए पो। अरूका बुढाले घुमाउन लगेर फेसबुकभरि फोटो हाल्छन्। कति माया गर्छन्। आफ्नो भने यस्तो ताल छ,’- एउटा झटारो फाल्दै मुर्मुरिइन्।

‘अँ टाँस्सिएर मुखमा चोंसो पसारेर खिच्यो भने माया गरेको हुन्छ है?’, भनेर निहुँ खोज्न मन त थियो तर आगोमा घ्यू थप्नु जाती हुन्न भन्ने बुझेकाले सुनेको नसुने झैँ गरेर आफ्नै ल्यापटपमा घोरिएर एकपटक फेसबुक बनाउने जुकरबर्गलाई बेस्सरी मनमनै सरापें अनि त्यहीँ फेसबुकतिर आँखा दौडाउन थालें। के गर्ने ‘माया वैगुनी नभई नहुनी’ भनेझैँ यो फेसबुकले कहिलेकाहीँ त घरै उजाडिदेला भन्ने पीर अनि यसको न्युजफिडतिर आँखा पुगेनन् भने खै के नपुगेको के नपुगेको जस्तो हुने अर्को पीर।

‘वरिष्ठ नेताको सिड्नीमा स्वागत’ शीर्षकको समाचारमा आँखा टक्क रोकिए। ‘वरिष्ठ’ भनेपछि कमसेकम केही न केही गुदी भएर देश खाएको नेता हुनुपर्छ भनेर समाचारको भित्र हेर्दै गएको त विदेश घुम्ने रहर पालेका एक कहिल्यै नसुनेको नेता रहेछन्। हे दैव! कमसेकम वरिष्ठ भन्ने अलङ्कार झुण्ड्याउँदा केही त विचार गर्न त पर्छ नि। पत्रकारलाई पनि वरिष्ठ झुण्ड्याइदिन पाए पुग्यो। न त्यसको अर्थसँग मतलव छ न त औचित्यसँग नै। नेतालाई बोलायो, दुई/चार दिन यसो अस्ट्रेलिया वरिपरि घुमायो अनि सेल्फी खिचेर फेसबुकमा हाल्यो। ‘ह्या यस्ता समाचार पनि के पढ्नू’– मनमनै कुरो खेलाएर सरर्र स्क्रोल गर्दै गएँ।

आउँदो शनिबार भव्य सांगीतिक कार्यक्रम रहेछ। न्युजफिडको अर्को समाचारमा आँखा टक्क अडिए। ओहो ! कोको गायक, संगीतकारहरू आउने रहेछन् भनेर खोतल्दै गएको त नेपालबाट ‘वरिष्ठ’ गायकका साथै यहाँका ‘वरिष्ठ’ कलाकाहरूको दमदार प्रस्तुती रे ! ‘वरिष्ठ’ कलाकार कोको रहेछन् भन्ने प्रबल इच्छाअनुरूप खोतल्दै गएपछि थाहा भो गायक कलाकार चिन्नलाई हल्का कसरत पो गर्नुपर्ने खालका रहेछन्। तर ‘वरिष्ठ’ भन्ने मानपदवी नझुण्ड्याएको भए पनि त हुन्थ्यो नि! खैर आ-आफ्नो इच्छा त होला नि यसो कलाकारलाई सम्मान गर्ने तरिका भनेको त भर्खरै गीत गाउन शुरु गरेका ठिटाहरूलाई पनि ‘वरिष्ठ’ को पदवी झुण्ड्याइएको रहेछ। दिक्क लाएर आयो। ‘ह्या यस्ता कार्यक्रममा के गई चाल भो र?’, मनमनै रीस पोखें।

‘बुढी यसो एककप चिया खान पाए हुन्थ्यो। साह्रै अल्छी पो लाग्यो त,’ यति भन्दावित्तिकै अघिदेखि मुर्मुरिएकी श्रीमतीजीको केही झटारो आउने हो कि भनेर बचाउ गर्ने उद्देश्यले थपेँ – ‘यसो कतै घुम्ने ठाउँहरू भेटिन्छ कि भनेर हेर्दैछु के।’

घुम्ने भनेपछि अलिक शान्त भएर उनी चिया बनाउने सुरसार गर्न लागिन्। म भने यही जुकरबर्गको न्युजफिड हेर्दै मन बहलाउनमै व्यस्त भएँ तर के सुख पाइन्थ्यो खै। ‘बाबा कार्टुन हेर्ने’ भन्दै यो तीन वर्षे छोरो मरिहत्ते गर्न पो लाग्यो। फोनमा पनि हुन्न रे बाबाकै ल्यापटप चाहियो रे। ‘जन्मँदै तीनपात’ भन्थे हो रच कसरी सकिन्थ्यो आजकलका भुराहरूलाई। ‘लाला हेर!’ भन्दै उसकै मनपर्ने कार्टुन युट्युबमा प्रस्तुत गरेपछि बल्ल सन्तानसुख महसुस भो।

बेलाबेलामा त यी राजेश हमाल बुढाले किन यो उमेरमा आएर बिहेसिहे गर्ने झमेला गरे होलान् जस्तो लाग्ने, बल्ल खायौ बुढा। अब नगरे नि नहुने गरे पनि नहुने। यस्तै त रैछ।

अब के गर्ने होला भनेर घरको बार्दलीतिर गएर यसो गाउँतिर दृष्टिगोचर गर्दै थिएँ, फोनको घण्टी बज्यो। मित्रकै रहेछ। ‘हेलो के छ मित्र हालचाल,’- कुरो शुरु गरेँ।

‘सब ठीक छ। आज बेलुकीको लागि तयार भाको हो त?’ – उताबाट प्रश्नको झटारो आयो।

‘केका लागि?’, – मैले अनभिज्ञता जाहेर गरेँ।

‘कस्तो केका लागि झन् त्यत्रो अगाडिदेखि भनिराछु आज बेलुका कार्यक्रममा जसरी भए पनि आउनुपर्छ भनेर। अरू केही थाहा छैन खुरुक्क साढे पाँच बजे आउने है। म कुरेर बस्छु,’ – उनले वाक्युद्ध नै गरे।

‘ए ए आज पो हो बर्थडे, झण्डै बिर्सिएको म त। आउँछु आउँछु टेन्सन नलेऊ न हो,’- आफ्नो बचाउ गरेँ।

जान त हुन्थ्यो तर आफूलाई यताउता भोज, भतेर, पार्टीतिर गयो कि ‘वरिष्ठ’ हरूको घेरामा परिन्छ कि भन्ने सधैँ पीर लाग्छ। त्यसैले सकभर त्यस्ता ठाउँहरूबाट बच्ने कोशिश गरिन्छ। अब साथीले मरिहत्ते गरेपछि नगई भएन भनेर एक्लै जाने निर्णय गरियो। सपरिवार जाने मनसाय त थियो तर एक त छोरोको सुत्ने र खुवाउने टाइम नमिल्ने त्यसमाथि यो चकचकेलाई लिएर हिँड्नै मुश्किल पर्ने। त्यसमाथि आफूलाई श्रीमतीजीको पार्टीमा जानेभन्दा पनि तयारीमा लाग्ने परिश्रम देखेर पनि दिक्कै लाग्ने।

ठिकै भो एक्लै जान परो भनेर अनेक व्यवधान तर्काउँदै बल्लतल्ल ६ बजेको हाराहारीमा बर्थडे पार्टी भएको ठाउँमा पुगियो। यस्सो दायाँबायाँ आँखा घुमाको त ४, ५ जनाबाहेक अरू कोही देखिएनन्। पार्टी आयोजक मित्रलाई देखेपछि अलि दङ्ग परेर हात मिलाउँदै सोधेँ– ‘खै त मान्छे त अझै आएका रहेनछन् त ?’

‘आउँदै होलान् नि! ठिक्क टाइममा त के आउँथे र? नेपाली पारा जहाँ गए पनि किन सुध्रिन्थ्यो र?’– उसले पनि गतिलै जवाफ फर्कायो अनि लल म अलि बिजी छु तिमीहरू यता मिलाएर बस्दै गर है भन्दै पन्छिहाल्यो।

आयोजकको आदेश मान्नैपर्‍यो भनेर एउटा कुनाको टेबलमा बसेर फेसबुक खेतीतिर लागियो। केही समयपछि साथीले एक व्यक्तिलाई परिचय गराउनका लागि हामीतिर ल्यायो र भन्यो – ‘उहाँचाहिँ यहाँको वरिष्ठ समाजसेवी है, परिचय गरम् न। अनि ऊ मेरो साथी है,’– मलाई देखाउँदै परिचयको शुरुवात गर्‍यो।

झनक्क कम्पारो नतातेको त कहाँ हो र? तै पनि शान्त मुद्रामैं हात मिलाउँदै खिस्स हाँस्ने प्रयत्न गरेँ अनि केही वेरको अप्ठेरो हटाउन अलिअलि कुराकानी गरेँ।

केही बेरपछि कुरो सकिएको महसुस भएर ‘एकछिन है’ भन्दै ती वरिष्ठ समाजसेवी मेरो टेबलबाट अलप भए। तर के गर्नु फेरि आयोजक साथीले परिचय गराउनका लागि अर्का मानवलाई लिएर आयो अनि भन्यो – ‘उहाँ यहाँको नेपाली समाजको वरिष्ठ अध्यक्ष।’

ए रातै! वरिष्ठ नभने हुन्न र? पख् सब यसैले चाप्लुसी गर्न पो त्यसो भनेको हो कि जस्तो लाग्यो। तर ती अधबैंशे मनुष्य ‘वरिष्ठ’ भन्दा फुलेल भएर मख्ख परेको देखेर केही नबोली सरासर हात मिलाउँदै खिस्स हाँस्ने प्रयत्न मात्र गरेँ। अनि केही परिचयात्मक वार्तालापपछि म पनि ‘एकछिन हजुर’ भन्दै विदावारी लिएर अर्कै स्थानको खोजीतिर लागेँ।

एउटा कुनामा बार रहेछ। मापसेमा परिएला भनेर एक पेग मात्र लिने दृढ निश्चय गर्दै एक पेग ह्विस्की मागेर त्यही कुनामा बसेर चारैतिर दृष्टिगोचर गर्दै उभिएँ। एकैछिनमा एक नचिनेका व्यक्ति आएर परिचय गर्न खोजे। अब यिनैसँग केही बात मारेर समय कटाउने उद्देश्यले आफू बर्थडे पार्टी आयोजकको साथी भएको बताएँ। उनले पनि वियरको ग्लासबाट एक चुस्की लिँदै भने– ‘म वरिष्ठ पत्रकार हुँ। म फलानो पत्रिकामा काम गर्छु। यो क्षेत्रमा लागेको जुनी भैसक्यो।’

एक मनले त ‘धमला वरिष्ठ पत्रकार हुने देशका मान्छेहरुमा अरू वरिष्ठ हुने के ठूलो कुरो भो र?’, भनौँ जस्तो लाग्यो तर पहिलो भेटलाई किन अमिलो पार्ने भनेर चुपचाप उनको आत्मप्रचार सुनेर खिस्स मुस्कुराएँ।

आयोजक व्यस्त साथीलाई बल्लतल्ल भेटाएर एक कुनामा लगेर अब धेरै बेर टिक्न गाह्रो भएको आभाष दिने उद्देश्यले भनेँ– ‘हेर साथी! तेरो पार्टीमा यहाँका सबै वरिष्ठ महोदयहरूको आगमन भएको रहेछ। आइयो, दुःख दिइयो, खाइयो पनि अब घर जानुपर्छ। भोलि बिहानै काम हान्न जानुछ।’

उसले पनि फुलेल हुँदै जवाफ दियो – ‘तैँले के सोंचेको छस् साथी। हामी पनि के कम। सारा समाजका वरिष्ठहरूलाई एकत्रित गराउन सक्ने व्यक्ति हामी पनि हुम् है।’

अबचाहिँ कन्सिरीका रौं साँच्चै ठाडा भए र खप्न नसकेर बुढी र छोरोलाई सम्झदै त्यहाँबाट घर लाग्ने सुरले हिँडियो। तर साथीले अझ केही बेर बस्नका लागि आग्रह गर्न थालेपछि सरासर हिँडेर अलि पर गएँ र उसले सुन्ने गरी भनेँ –‘हजुर वरिष्ठ, हस् त नमस्कार!’

 

photo

NOC1-250x300