सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ?

नवीनकिशोर गैह्रे
अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ । सामाजिक वेब पनि भनिने वेब २.० को विकासले इन्टरनेटका प्रयोगकर्तालाई आप्mना विषयवस्तु सिर्जना गर्ने र त्यस विषयमा अन्य व्यक्तिसँग अन्तरक्रिया गर्ने सुविधा प्रदान गरेसँगै सामाजिक सञ्जालको लोकप्रियता बढ्न थाल्यो । सामाजिक सञ्जालको इतिहास त्यति पुरानो छैन । सन् १९९७ मा “सिक्स डिग्री डट कम” बाट यस्को सुरुभएको हो । त्यस यताको दुई दशकको छोटो यात्रामा सामाजिक संजालले ठूलो फड्को मारेको छ । नेपालजस्तो थोरै जनसंख्या भएको र कम विकसित देशमै सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन र यो क्रम निरन्तर बढ्दो छ । यहाँ “फेसबुक”, “ट्वीटर”, “युट्युब” र “इन्स्टाग्राम” जस्ता सञ्जाल बढी लोकप्रिय छन् । सामाजिक संजालका धेरै प्रयोगकर्ता त व्यसनीजस्तै भएका छन् ।

सदुपयोग भयो भने सामाजिक सञ्जालका धेरै फाइदा पनि छन् । यिनीहरू तथ्यांक र सूचनाका खानी नै हुन् । कुनै विषयको अध्ययन र अनुसन्धानमा यिनीहरू निकै उपयोगी सिद्ध हुनसक्छन् । नेपालको इञ्जिनीयरिङ शिक्षामा सामाजिक संजालमा भएका यस्ता तथ्यांक र सूचना कसरी प्राप्त गर्ने र तिनलाई कसरी विश्लेषण गर्ने भनेर पाठ्यक्रममै समावेश गरिएपछि यस्को महत्त्व झन् बढेको छ । यसबाहेक मनोरञ्जन र जनसंचारजस्ता क्षेत्रमा यिनको सदुपयोगले पुग्ने फाइदा त वयान गर्नै नसकिने छ । दुनियाँ कम्प्युटरको “माउस”मा गरिने चोर औंले क्लिकबाट “स्मार्ट फोन” र अन्य यस्तै उपकरणको सस्तो र सहज उपलब्धतासँगै बुढी औंले स्क्रोलमा साँगुरिएको छ । मन परेको टीभी कार्यक्रम वा सिनेमा हेर्न होस् वा पत्रपत्रिका पढ्न, साथीभाईलाई सन्देश पठाउन होस् वा टाढा रहेका आफन्तको अनुहार हेर्दै गफ गर्न यही बुढी औंले स्क्रोल काफी छ ।

अर्कातिर, सामाजिक सञ्जालको प्रयोगलाई उचित नियन्त्रण गरिएन भने “असामाजिक” सञ्जाल बन्नसक्ने खतरा रहन्छ । जिम्मेवार व्यक्तिले सार्वजनिकरूपमा बोलेका कुराको समेत जबाफदेही लिनै नपर्ने अभ्यास रहेको नेपालजस्तो देशमा यो जोखिम अझै बढी हुन्छ ।
सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई एक्ल्याउँदै लगेको छ । उनीहरूलाई समाजबाट टाढा बनाउँदै छ । अर्थात्, सामाजिक सञ्जालले व्यक्तिलाई असामाजिक बनाउँदै लगेको छ । धेरै सम्बन्ध तोडिनुमा सामाजिक सञ्जालले मुख्य उत्प्रेरकको काम गरेका समाचार आइरहेका छन् । त्यस्तै अपराधिक घटनामा पनि कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जाल जोडिएका उदाहरण पनि प्रशस्तै पढ्न र सुन्न पाइन्छन् ।

देशले प्रथम चरणको स्थानीय तहको अन्तिम नतिजाको व्यग्र प्रतीक्षा गरिरहेका बेला गत जेठ १४ गते सामाजिक सञ्जालहरू फेसबुक र ट्विटरका नेपाली प्रयोगकर्ताको भित्तामा एकाएक राष्ट्रकवि माधव घिमिरेको मृत्यु भएको गलत सूचना भाइरल बन्यो । सामान्यमात्र नभएर धेरै विद्वान्, वुद्घिजीवी भनिने व्यक्ति एवं तत्कालीन गृहमन्त्रीले समेत त्यो समाचार सेयर गरे । मृत्यु जोसुकैको होस्, अति सम्वेदनशील घटना हो । राष्ट्र कविजस्तो सम्मानित व्यक्तिसम्बन्धी सूचनासमेत पुष्टि नगरी सेयर गर्ने लहर चल्यो ।

विसं २०७२ वैशाखको भूकम्पपछि होस् वा भर्खरै तराईमा आएको बाढीपछि, सामाजिक सञ्जालमा विदेशका यस्तै प्रकारका प्रकोपका विभत्स तस्बिर राखेर नेपालको भन्दै प्रचार गर्ने र मानवीय संवेदनामा खेल्ने पात्र पनि धेरै देखिएका थिए । सूचना गलत हो कि सही हो भन्ने विचारै नगरी सेयर गर्न समाजका पढेलेखेका वर्गका व्यक्तिसमेत अगाडि सर्नु उदेकलाग्दो विषय हो ।

सामाजिक सञ्जालका धेरै नेपाली प्रयोगकर्ताले आफूले गर्ने पोस्ट सत्य भए नभएकोमा खासै सरोकार राख्दैनन् । न त तयस पोस्टले समाजमा पार्ने असरका बारेमा नै ख्याल गर्छन । कसैको मृत्यु भयो भने शवको छेउमा उभिएर तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्न हतार गर्नु मानवीय संवेदनाहीनताको पराकाष्ठा नै हो । कुनै दुर्घटनाका हेर्नै नसकिने विभत्स दृश्य हु्न वा दैवी प्रकोपपछि उद्धारका क्रममा खिचिएका अप्रासंगिक सेल्फी, सामाजिक सञ्जालमा राख्नेहरू वास्तवमा ‘असामाजिक’ व्यक्ति हुन् । त्यस्तै “देखेर नदेखेजस्तो नगर्नुस् अन्यथा यस्तो नराम्रो हुनेछ” वा “यति जनालाई यो सेयर गर्नुस् मनोकांक्षा पूरा हुनेछ” भनेर देवी, देवताको तस्बिर साझा गर्नु पनि व्यक्तिको आस्थामा गरिएको खेलबाड हो ।

अहिले त नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो । पहिले हिन्दु अधिराज्यहुँदैदेखि यहाँ रहेको धार्मिक सहिष्णुता विश्वमै उदाहरणीय छ । एकथरी व्यक्ति वा समूहलाई यो मन परेको छैन । यहाँको धार्मिक र जातीय सहिष्णुतामाथि निरन्तर प्रहार भइरहेको छ । सामाजिक सञ्जाल पनि यस काममा प्रयोग भइरहेका छन् । विदेशमा त सामाजिक सञ्जालमा राखिएको एउटै पोस्टले सस्प्रदायिक दंगा भड्किएका धेरै उदाहरण छन् । नेपाली सामाजमा द्वेष फैलाउन सामाजिक सञ्जाल कसरी प्रयोग हुनसक्छ भन्ने उदाहरणका लागि अहिले चर्चित टेलिभिजन सो “नेपाल आइडल”लाई लिन सकिन्छ । यसका केही दर्शकले प्रतियोगीको गायकी नभएर जातकै विषयलाई लिएर पक्ष र विपक्षमा बाँडिएर सामाजिक सञ्जालमा सोहीअनुसारका पोस्ट गरेको देखियो ।

कसैलाई केही चित्त बुझेन वा कसैसंग रिस उठ्यो भने सामाजिक सञ्जालमा एक हरफ नराम्रो लेखिदियो र काम सक्किएको ठान्यो । समाजको ठूलो समूह त्यस्को सत्यता खोजबिन गर्नेतर्फ सोच्दै सोच्दैन । त्यही एकहरफका आधारमा धारणा बनाइदिन्छन् । नेपालका धेरै नेता, सामाजिक अभियन्ता, कलाकार, खेलाडी र अन्य पेसाकर्मीमात्र नभएर विभिन्न संघसंस्थासमेत यस्तै घटनाबाट पीडित भएका छन् ।

सामाजिक सञ्जालको यस्तो नकारात्मक प्रयोग नियतवश वा प्रयोग गर्न नजानेर पनि हुनेगर्छ । कुनै निश्चित “मिसन”का लागि सञ्चालित व्यक्ति वा समूहको काम नै सामाजिक सञ्जाललाई आप्mनो उद्देश्यमा सहयोग पुग्नेगरी प्रयोग गर्नु हो । यिनलाई समाजलाई जस्तोसुकै असर परोस् केही मतलब हुँदैन । उदाहरणका रुपमा नेपाललाई विखण्डन गर्ने उद्देश्य बोकेका व्यक्ति र समूहका पोस्टहरूलाई लिन सकिन्छ । आईएस र अल्कायदाजस्ता अन्तर्राष्ट्रिय आतंकवादी संगठनले आतंककारीको भर्तीदेखि अन्य धेरै काम सामाजिक सञ्जालकै माध्यमबाट गर्छन् । कुनै उद्देश्यले प्रेरित नभएका तर परपीडक प्रवृत्तिका व्यक्तिले पनि सामाजिक सञ्जालको नकारात्मक प्रयोग गरिरहेका हुन्छन । कोही अरुको देखासिकीमै त कोही चर्चित हुने लोभले पनि नजानेरै सामाजिक सञ्जालको गलत प्रयोग गरिरहेका हुन्छन् ।

नेपाल लोकतान्त्रिक मुलुक हो । अभिव्यक्तिको स्वतन्त्रताले लोकतन्त्रलाई जीवन दिइरहेको हुन्छ । सामाजिक सञ्जाल अभिव्यक्तिको सजिलो माध्यम बनेका त छन् तर सामाजिक सञ्जालमा जे पनि लेख्न वा पोस्ट गर्न पाउन पर्छ भन्ने मान्न सकिँंदैन । यस्मा व्यक्त गरिने विचार र शब्दलाई नियमन गर्नै पर्दछ । सामाजिक सञ्जालको नकारात्मक प्रयोगलाई हतोत्साही गर्नैपर्छ ।

विद्युतीय कारोबार ऐन, २०६३ मा “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ” भन्ने व्यवस्था छ ।

यो कानूनी व्यवस्थाले मात्र “असामाजिक” बाटोमा हिंड्न लागेको “सामाजिक सञ्जाल”लाई “सामाजिक” बाटोमा हिँडाउला भनेर विश्वास गर्न सकिने ठाउँ निकै कम छ । यसैले प्रयोगकर्ता आपूmले पनि सभ्य समाजको सदस्य भएको प्रमाण प्रत्येक पोस्ट र ट्विटबाट दिइरहनुपर्छ ।

(source-www.barhakhari.com)

ads