शाकाहारी राम्रो कि मांसाहारी ?

veg-vs-nonveg1-696x406मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।’ जीवन जिउने कला सिकाउने नाममा आयोजित गोष्ठीमा एक सहजकर्ताको खानासम्बन्धी यस्तै भ्रामक टिप्पणी सुनेपछि मैले पौष्टिकता र स्वास्थ्य विज्ञानको दृष्टिकोणले यसको आधार तथा वास्तविकतामा असहमति जनाए ।

अरूलाई खुसी हुने कला सिकाउनेको स्वभाव रिसालु र झर्किने त थियो नै, केही सहभागीको असहमति पछि उनी झनै आक्रामक देखिइन् । तर जो, जसरी प्रस्तुत भए पनि वास्तविकतालाई लत्याउन सकिँदैन । खानासम्बन्धी भ्रामक प्रचार भइरहँदा यही क्षेत्रमा संलग्न व्यक्ति चुप बस्नु भनेको गलतलाई प्र श्रय दिई भ्रम बढाउनु हो ।

खानासम्बन्धी विषय व्यक्तिको जीवनमरणसँग जोडिएको हुँदा यसबारे अनुमान र सुनेका भरमा गरिने प्रचार खतरनाक हुन्छ । यस्ता खतरा कम गर्न दशकौं आधिकारिक अनुसन्धानले पुष्टि गरेका कुरालाई आधार बनाएर यस क्षेत्रका विज्ञहरूबाट मात्र खानासम्बन्धी सार्वजनिक टीकाटिप्पणी गर्ने संस्कारको विकास हुन जरुरी छ । विभिन्न बाबाहरू वा अरू कुनै नाममा प्राविधिक, यस विषयको चुरो नबुझेकाहरूले सोझा जनता माझ गरिरहेको भ्रामक प्रचार रोक्न जरुरी छ ।

मांसाहारी भोजन राम्रो कि शाकाहारी ? भन्ने विषय विवादमा आइरहने गर्छ । यसबारेमा सबैका आ–आफ्नै तर्क छन् । तर हामीले व्यक्तिको तर्कसँग होइन अनुसन्धानले पुष्टि गरेका वास्तविक र आधिकारिक कुराको आधार लिन जरुरी छ । विभिन्न अध्ययनअनुसार पूर्ण शाकाहारी भोजनका कारण भिटामिन बी १२ लगायतका भिटामिन, मिनरलजस्ता कतिपय पोषकतत्वको कमी हुन सक्छ । केही अनुसन्धानले पूर्ण शाकाहारी व्यक्तिहरूमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेका छन् ।

अनुसन्धानले पूर्ण शाकाहारी व्यक्तिहरूमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेको छ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ ।

मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने, रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि औंल्याएका छन् । अहिलेसम्मको अनुसन्धानलाई हेर्दा अति मांसाहारी र पूर्ण शाकाहारी दुवै गलत हो ।

शाकाहारी र मांसहारीका प्रकार

शाकाहारी र मांसाहारीका विषयमा संसारभर पाँच खालको अभ्यास देखिन्छ ।

पहिलो : पूर्ण शाकाहारी अर्थात् भेगान जसले माछा, मासु, अन्डा, दूध तथा दुग्ध पदार्थ तथा जिलाटिन हालिएको खानासमेत खाँदैनन् ।

दोस्रो : ल्याक्टो भेजिटेरियन जसले माछा, मासु, अन्डा तथा जिलाटिन हालिएको खाना खाँदैनन् तर दूध तथा दुग्ध पदार्थ खान्छन् ।

तेस्रो : ल्याक्टो ओभो भेजिटेरियन जसले माछा, मासु खाँदैनन् तर अन्डा र दूध तथा दुग्ध पदार्थ खान्छन् ।

चौथो : खालको भेजिटेरियन आभो भेजिटेरियन हो र यस्तो भेजिटेरियनले माछा, मासु, दूध तथा दुग्ध पदार्थ खाँदैनन् तर अन्डा खान्छन् ।

पाँचौं : आंशिक भेजिटेरियन हुन र उनीहरूले मासु खाँदैनन् तर माछा खान्छन् । यस्ता भेजिटेरियनलाई पेस्काटारियन पनि भनिन्छ । केही आंशिक भेजिटेरियनहरू चारखुट्टे जनवारको मासु खाँदैनन् तर कुखुराको मासु खान्छन् जसलाई पोलो भेजिटेरियन भनिन्छ । स्वास्थ्यका दृष्टिकोणले पूर्ण भेजिटेरियन बाहेकका अन्य चार खालका भेजिटेरियन त्यसमा पनि माछा, अन्डा, सेतो मासु खाने खालका आंशिक भेजिटेरियन राम्रो हो ।

फाइदा बेफाइदा

मांसाहारी भोजन कम गर्ने र सन्तुलित शाकाहारी भोजनको सेवनले उच्च कोलेस्टेरोल, मुटु रोग, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याबाट बचिन्छ । मांसाहारी भोजन उच्च गुणस्तरको प्रोटिन तथा कतिपय भिटामिन र मिनरलको राम्रो स्रोत हो । यी पोषक तत्व शाकाहारी भोजनबाट नपाइने भन्ने होइन । तर जति सजिलैसँग मांसाहारी भोजनबाट पाइन्छ, तिनै तत्व त्यही मात्रामा शाकाहारी भोजनबाट पाउनका लागि धेरै खालका खानाको विविधता मिलाउन जरुरी हुन्छ । अत: स्वाद, सन्तुष्टि, पोषण, खर्च आदिका आधारमा पनि शाकाहारी भोजनलाई प्राथमिकता र नियमित सन्तुलित मात्रामा स्वच्छ माछा, मासु वा अन्डाको उपभोग नै स्वस्थ्यवद्र्धक हुन्छ ।

बुझाइ

केही अनुसन्धानले मासु खानेभन्दा शाकाहारीको आयु लामो हुने पनि भनेका छन् । तर पोषणका दृष्टिकोणले पुर्ण शाकाहारी र अति मांसाहारी दुवै राम्रो होइन् । हामीले खाने सबै खानाहरूको आफ्नै पोषण महत्व हुन्छ । माछा, मासु एक विशेष पोषण महत्व भएको खानेकुरा हुन् । पूर्ण शाकाहारीहरूले मांसाहारी भोजनबाट पाउनुपर्ने विभिन्न पोषण तत्वहरू पाउन सक्दैनन् वा कम पाउँछन् जसका कारण दीर्घकालमा समस्या आउन सक्छ ।

अर्कोतिर मांसाहारीहरूले पनि अधिक माछा, मासु उपभोग गर्ने, स्वच्छतामा ध्यान नदिने हो भने झनै खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले शाकाहारी भोजनमा समावेश हुने खानाका साथै आवश्यकताअनुसार नियमित ठिक्क मात्रामा स्वच्छता कायम गरिएको माछा, मासु, अन्डा वा त्यसबाट बनेका परिकारहरू सन्तुलन मिलाई खान सके स्वस्थ भएर बाच्न सहयोग पुग्दछ ।

शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केही भिटामिन तथा खनिजका लागि मांसाहारी भोजन राम्रो स्रोत हो । कतिपय ओमेगा फ्याटी अम्लको परिपूर्तिका लागि पूर्ण शाकाहारीभन्दा आंशिक मांसाहारी खाना उत्तम हुन्छ । आइरनको उचित शोषणका लागि पनि मांसाहारी खाना शाकाहारीभन्दा राम्रो मानिन्छ । हाम्रो जस्तो प्रोटिन, आइरनजस्ता पोषक तत्वको कमीका कारण धेरै कुपोषित भइरहेको मुलुकमा कुपोषणको दीर्घकालीन समाधानका लागि माछा, मासु, अन्डा राम्रा विकल्प हुन् । भिटामिन बी १२ पशुपंक्षीजन्य स्रोतमा मात्र पाइने हुँदा पुर्ण शाकाहारीहरूले यसको आपूर्तिको लागि बी१२ फोर्टिफाइड खाना वा सप्लिमेन्टबाहेक विकल्प छैन ।

कतिपयले मानिस शाकाहारी प्राणी हो भनी प्रमाणित गर्न बाघ, सिंहजस्ता पूर्ण मांसाहारी प्राणीहरूसँग दात, नंग्रा, पेटको तुलना गरी जबर्जजस्त प्रमाण जुटाउन खोजेको देखिन्छ । तर पर्यावरण चक्रमा मानिस जन्मजात ओम्निभोरस अर्थात् सर्वहारी प्राणी हो । खान जान्दा मांसाहारी भोजनबाट हामीले धेरै फाइदा लिन सक्छौ भने खान नजान्दा धेरै खतरनाक स्वास्थ्य समस्या । अत: पूर्ण शाकाहारी बन्नु पर्दछ भन्ने अभियानभन्दा आंशिक शाकाहारी बन्ने सन्देश बढी व्यावहारिक हुन सक्छ ।

ध्यान दिनुपर्ने

माछा, मासु जति पौष्टिक दृष्टिकोणले हाम्रो लागि फाइदाकर छ सूक्ष्म जीवको लागि पनि त्यति नै फाइदाकर हुने हुँदा छिटो कुहिन सक्छ । अत: मांसाहारीहरूले यसको स्वच्छताका बारेमा उत्ति ध्यान दिनुपर्ने हुन्छ । मासुका लागि वध गरिने पशुपंक्षीको स्वास्थ्य कस्तो छ, काट्नु अगाडि कुन अवस्थामा छ, काट्ने ठाउँ तथा हतियार कतिको सफा छ, काटेको मासु राख्ने ठाउँ कत्तिको उपयुक्त छ भन्ने हेक्का राख्नुपर्दछ ।

विशेषगरी रोगी पशुपंक्षीको मासुबाट रोगका कीटाणुहरू, एन्टिबायोटिक तथा हर्मोन अवशेष बढी भएको मासु, फर्मालिन हालेको माछाबाट ती रसायनहरू, फोहोर तथा बासी मासुबाट रोग लगाउने हानिकारक जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्न सक्छन् । यस्ता जीवाणुको प्रवेशले झाडापखाला लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता सामान्यदेखि ज्यानै जान सक्ने खतरनाक लक्षणहरू देखिन्छन् ।

एन्टिबायोटिक बढी भएको मासुको उपभोगले शरीरमा औषधिको प्रभावकारिता घटाई सामान्य संक्रमणका कारण पनि जटिल समस्या भोग्नुपर्ने वा ज्यानै जान सक्ने पनि हुन्छ । धुवाँमा पोलिएको मासु सेकुवाको रूपमा खाँदा त्यसमा भएको बेन्जो ए पाइरिनजस्ता रसायनले क्यान्सर निम्त्याउन सक्दछन् । बोटुलिनमनामक ब्याक्टेरियाले संक्रमण गरेको माछा, मासुमा हुने विषका कारण स्नायु प्रणालीमा असर परी ज्यान जान सक्दछ । युरिक एसिड भएकाहरूका लागि रातो मासु धेरै खतरनाक हुन्छ ।

रगतमा चिल्लो पदार्थ बढेका दीर्घ रोगीहरूका लागि पनि मासु खानु हानिकारक हुन्छ । मासु खाँदा पशुपंक्षीको शरीरमा बढी सक्रिय हुने आँखा, मुटु, कलेजो, आन्द्राभुँडी, गिदी आदि खानु हँुदैन । हामी धेरैजसो स्वास्थ्यका लागि भन्दा पनि खाना स्वादका लागि, अघाउनका लागि वा सेलेब्रेसनका लागि खाने गर्दछैां जुन गलत हो । स्वास्थ्यलाई केन्द्रमा राखेर खानेकुराको योजना बनाउने हो भने आफूले खाएको खानाले आफ्नै स्वास्थ्यलाई खाने समस्याबाट बचिन्छ ।

 

photo

NOC1-250x300