मेरो बुबा को हो ?

अस्ट्रेलिया, साउन १७ । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी खोलेर आश्चर्यचकित भए ।

“श्रीमान् पिकक,” चिठीमा लेखिएको थियो । “भिक्टोरियन एसिस्टेड रिप्रोडक्टीभ ट्रिटमेन्ट अथोरिटी (भार्ता) ले तपाइँसँग सम्बन्धित जानकारी लिन चाहेको छ । प्रिन्स ह्यारी इन्स्टिच्यूटमा तपाइँले सहयोग गर्नुभएको घटनासँग यो चिठी सम्बन्धित छ ।”

प्रिन्स ह्यारी ? मेलबोर्नको यस क्लिनिकमा झण्डै ४० वर्षअघि उनले वीर्यदान गरेका थिए ।

यो पत्रको एउटा मात्र कारण यही हुनु पर्दछ, उनले सोचे । उनको वीर्यदानबाट सायद कसैले पृथ्वीमा जन्म लिएको हुनु पर्दछ ।

उनको दिमागमा छटपटी भयो । सबैलाई यो कुरा कसरी सुनाउनु ? आफ्ना दुई नातिनातिनालाई यो कुरा कसरी भन्नु ? ऊ को हो भनेर कसरी चिन्नु ? उनले आफूले गरेको वीर्यदान अज्ञात रहने बाचा गरेका थिए ।

दशौं वर्षपछि पछिल्लो नयाँ कानुन आउनुअघि नै अस्ट्रेलियाले वीर्य र डिम्ब दाताहरुको परिचय मेटेको थियो । तर उनीहरुका वीर्य र डिम्बबाट जन्मेका बच्चाहरुले आफू को हो भन्ने कानुनी अधिकार पाउने भएका छन् ।

त्यो चिठी पाएको एक सातापछि पिककले एकजना जिप्सी डायमन्ड नाम गरेकी महिलाको तस्वीर पाए । उनका काला आँखा आफ्नै आँखाजस्ता पाए । “हे भगवान, यो त मेरैजस्तो अनुहार छ, ती महिला मेरी छोरी होइनन् भनेर कसरी भन्नु,” उनी भन्छन् । “हो, उनी मेरै छोरी हुन् ।”

लामो विवादपछि भिक्टोरिया राज्यले जारी गरेको नयाँ कानुन अनुसार भार्ताले वीर्य र डिम्बदाताहरुको नाम सार्वजनिक गर्नुपर्ने भएको छ । भार्ताले दाताहरु, जन्मिने बच्चा र उनीहरुका आमाबाबुको नामनामेसी राख्ने तथा परामर्श सेवा उपलब्ध गराइआएको छ । कतिपय बालबालिकाले आफ्नो पहिचानको खोजी गर्ने इच्छापूर्तिका लागि “मेरो बाबु को हो ?” भन्ने अभियान चलाएका थिए ।

यस क्लिनिकमा २००० भन्दा बढी व्यक्तिले आफ्नो पहिचान नखोल्ने शर्तमा वीर्यदान गरेका थिए । पुरानो कानुन अनुसार, दाताहरुले आफ्नो वीर्यदानबाट जन्मेका बालबच्चासँग सम्पर्क गर्नु पर्दैन । यो नियमको उल्लङ्घन गर्नेमाथि ७,९०० अस्ट्रेलियाली डलर जरिवाना गर्ने प्रावधान समेत रहेको छ ।

रासस

 

photo

NOC1-250x300