ब्रह्मदत्त काँग्रेस

डा. पुण्यसागर मरहट्टा

२०७४ मङ्सिर २७ बुधबार १०:२०:००

विवेचना, आरोप, क्रन्दन र आक्रमण एकैसाथ नेपाली कांग्रेसको शीर्ष नेतृत्वतिर सोझिएको छ । यो स्वाभाविक पनि छ । यसभन्दा स्वाभाविक के छ भने अबका पाँच वर्ष जिम्मेवार प्रतिपक्ष, वैचारिक संगठन र तेजिलो नेतृत्व निर्माणमा आफूलाई समर्पित गर्नसक्छ कांग्रेसले । तर, नेतृत्वको चाहनामा भर पर्छ त्यो । सम्भवतः २०१७ सालको कुपछि कांग्रेसमाथि यसभन्दा ठूलो संकट आइलागेको थिएन । वैचारिक दृष्टिले संकटग्रस्त कांग्रेसलाई २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीतिले, २०४६ सालमा गणेशमानजीले संयुक्त जनान्दोलनको संजीवनी ब्युझाएकै हुन् ।

पटकपटक मण्डले आक्रमणबाट जोगाउँदै, जोगाउँदै पहिलो पार्टी बनाउन सफल किशुनजी, गणेशमानजीको बहिर्गमनपछि र त्यसको लगत्तैजस्तो शेरबहादुरजीको विद्रोहपछि कांग्रेस एकोहोरो ओरालो लागेकै हो । गिरिजाप्रसाद पद्धतिको विरोधमा जन्मेको शेरबहादुर कांग्रेस त्यही पद्धति अनुशरणमा जानुहुँदैन थियो । आत्महत्याको  प्रतिबध्दता पनि प्रतिबध्दता नै हो, जो घातक हुन्छ । कांग्रेस नेतृत्वको पछिल्लो प्रतिबध्दता आत्महत्याको प्रतिबध्दतामात्रै थियो र ओरालो कुद्न सजिलो भएर होला, त्यतातिर कुदेको कुद्यै थियो । अहिलेको संघीय र प्रादेशिक संसद्को नतिजा त ओरालो कुद्दा ढुन्मुनिएको बालक र उसले पाएको घुँडाको चोटजस्तो मात्रै हो । यसभन्दा ठूलो संकट त  अझै उँधो कुद्ने प्रतिबध्दताको निरन्तरता हुनेछ ।  निश्चय नै आत्महत्याको निर्णय त जोकोहीको आफ्नै बसको कुरो भयो । 

विसं २०६२–६३को आन्दोलन सकिएलगत्तै करिब २० दिनको एउटा विकासे प्रोजेक्टसम्बन्धी सुदूरपश्चिमको यात्रा जुरेको थियो यस लेखकलाई  । धार्चुला दार्चुला पुगेर महाकालीको किनारै किनार उकु, चमेलिया दोभान, सेरा फाँट, गोठलापानी, झुलाघाट, पंचेश्वर, सिल्लेगाडा, गोकुले, जोगबुडा, साँच्चै सुन्दर र सुदूर पश्चिम ।

भौतिकरुपमा सुन्दर तर आर्थिक सांस्कृतिकरुपमा ’बाबुसाहेब ’ प्रवृत्तिले गाँजेको नेपाली भेग हो त्यो । हरेक चियापसलमा माओवादी, एमाले, कांग्रेस होलान् भेटिएका तर सबैजना शेरबहादुरजीका प्रशंसक थिए । किनभने, त्यो कालखण्डसम्म पनि शेरबहादुरजी ’कमनर’ नै थिए । सायद  बाबुसाहेबमा रुपान्तरणको प्रक्रियामा थिए ।

राजनीतिक छलफलमा बाबुसाहेबको पगरी लोकेन्द्रबहादुर चन्दको शिरमा थियो त्यतिखेरसम्म । नेपाली जनताले बाबुसाहेबविरुद्ध सदैव अरुचि देखाए । सायद अहिले सुदूर पश्चिमलगायत नेपालैभर त्यही दावानल दन्केको मात्रै हो । समानुपातिकमा झन्डै उतिनै मत ल्याउने कांग्रेस प्रत्यक्षमा आफ्नै कारणले  र त्यसमा पनि बाबुसाहेब प्रवृत्तिले मरिच बनेको हो । शेरबहादुरजी (यहाँ मैले जी को प्रयोग किन गरेको हुँ भने सुदूर पश्चिममा जी को प्रयोग आदरका लागि गरिन्छ जसरी पूर्वमा दाको ) आफू मात्र बाबुसाहेब बन्नु भएन, सयौं बाबुसाहेब जन्माइदिनुभयो । अहिलेको हार कांग्रेसको नभई बाबुसाहेबहरुको हार हो । बासु रिसाल (जसलाई हामी निकटस्थहरु गुम्बा भन्थ्यौँ) भन्नुहुन्थ्यो ( ज्वाइँ थकालीको जस्तो हुनुपर्छ, ठकुरीको जस्तो हुनुहुन्न ।

कुन प्रसंगमा सो कुरा आउँथ्यो भने थकालीको ज्वाइँले परे भारी  पनि बोकिदिन्छन्, बारी पनि जोतिदिन्छन्, ती तँ भन्न मिल्ने ज्वाइँ हुन्छन् । ठकुरीका ज्वाइँ न भारी बोकिदिन्छन् न बारी जोतिदिन्छन् । हरेकपटक बाबुसाहेब पल्टिदिन्छन् । यो उद्धरणलाई जातीयताको आँखाले नहेरियोस् तर भन्न खोजेको के हो भने शनैः शनैः तिनै बासु रिसाल जस्ता निम्नमध्यमवर्गीय तप्काले जोगाइदिएको कांग्रेस ठकुरीका ज्वाइँजस्ता बाबुसाहेबहरुको बिच्छ्यौना पो भयो । पार्टी त परे खनी पनि दिने, जोती पनि दिने, बोकी पनि दिने चाहिएको हो जनतालाई । ज्वाइँ बाबुसाहेबजस्तो सुकिलो त होइन ।  बीपी कोइरालाले सुकिलामुकिलाबाट जोगाउनु भनेको कांग्रेस समानुपातिकमा देखिएको हो । 

हितोपदेशमा ब्रह्म नामक एक युवक र उसकी आमाको कथा छ । लामो यात्रामा एक्लै कतै निस्किंँदै हुन्छ ब्रह्मदत्त । उसकी आमा चियो चिन्ता गर्छिन् । केटो त महसुर छ तर मूर्ख पनि छ । त्यसैले दुःख पाउन सक्छ । अनि सोध्छिन् – तँ एक्लै निस्कने यात्रामा कि साथी कोही छन् ? आफ्नो उमेर र बलियो पाखुरा देखाउँदै ब्रह्म भन्छ – चिन्ता नलेऊ आमा । म जवान छु र मेरा पाखुरा बलिया छन् । अनेक अनुनय विनय गरेर आमा कपुरको थैलोमा राखेर एक विषालु गंगटो  ब्रह्मदत्तको साथ पठाउन सफल हुन्छिन् ।

लामो यात्रा हिँडेको ब्रह्मदत्त थकित भएपछी केहीबेर चौतारीमा सुस्ताउन बसेको बेला झुपुक्क निदाउछ । कपुरको वासनाले तानिएको एउटा गोमन सर्प रुखको टोड्कोबाट निस्किन्छ र ब्रह्मदत्तको झोला  खोतल्न थाल्छ । गंगटोले गोमनलाइ त्यहीँ परलोकको बाटो देखाइदिन्छ । ब्युँझेर ब्रह्मदत्त त्यतिखेर विस्मित हुन्छ जब आफूसँगै एक मृत गोमन देख्छ । अनि आमालाई सम्झिन्छ, आमाको स्नेह र दुरदर्शितालाइ नमन गर्छ ।

कांग्रेसको अहिलेको अवस्था एक्लै गंगटो बिना हिँडेको ब्रह्मदत्तजस्तो भएको हो । हिजो सहस्र आमाहरुले एक्लै नहिँड भन्दा आफ्नो तुजुक देखाएर हिँडेको कांग्रेस कहिले पहिलो राष्ट्रपतिको सपनाले, कहिले प्रधानमन्त्रीको निरन्तरताले, कहिले प्रहरी प्रमुखको नौटंकीले, कहिले अख्तियार प्रकरणले, कहिले प्रधान न्यायाधीश प्रकरणले क्षयीकृत हुँदै गएको थियो । त्यसबाहेक कहिले पुष्पकमलको बाहुपासमा, कहिले कमल थापा, दीपक बोहोराको मण्डलीमा, अनि कहिले कोकिलकण्ठी स्वार्थान्ध सुकिला बुद्धिजीवीहरुका ’यति सिट पक्का’ भजनमा मोहित भएकै हो । झन्डै सोतर हुन पुगेको कांग्रेसलाई जनताले बाउबाजेको कीर्तिका कारण समानुपातिकमार्फत जोगाइदिएका छन् । 

यो ब्रह्मदत्तरुपी कांग्रेसको साथ हिँड्ने गंगटो नभएको पनि होइन । विसं २०६५ तिर एक स्नेही शिष्यले सोधे – सर, हजुर अचेल त्यति सक्रिय देखिनुहुन्न नि राजनीतिमा, किन? मसँग जवाफ थिए तर ’नेपालमा अब संवैैधानिक राजतन्त्रवादी कांग्रेसी बाहुन भएर बाँच्न दुरुह छ । कांग्रेसले समातेको यो बाटोले मलाई शिथिल गरायो र मजस्ता हजारौं साथीहरुलाई कांग्रेसप्रति वितरागी बनाउनेछ ।’ शब्द फरक होलान् भाव यही थियो । सम्भवतः प्रवासिनुको अन्तर्यमा त्यो अवचेतनभाव पनि लुकेको छ । एउटा गंगटो पुस्ता थियो कांग्रेसका लागि, देख्दा कुरुप, अर्काको लागि बिखालु ठुंग हान्न सक्ने तर ब्रह्मदत्तजस्तो कांग्रेसको लामो यात्राको साथी । त्यो पुस्ता अहिले पनि स्ववास, प्रवासबाट अझै बिनाआग्रह, पूर्वाग्रह ब्रह्मदत्तको बचाऊ गरिरहेछ । देशभित्र पनि त्यस्ता गंगटाहरु छन् मिडियाका, युवाका , बुद्धिजीवीका रुपमा । ती गंगटा प्रयोगमा ल्याउनै जानेन कांग्रेसले । 

जनाधारित (मास बेस्ड) पार्टीका केही चलायमान गुण हुन्छन् । त्यसमध्ये प्रचार एउटा हो । कांग्रेसले प्रचार गर्न कहिल्यै जानेन ।  सामाजिक संजालमा मुग्ध पार्ने खालको जम्मा २ वटा प्रचार देखियो समवयी विश्वप्रकाशको र कान्छो पुस्ताका गगन थापाको । विश्व हारे पनि उनी रहिरहने छन् अझै केही समय नेपाली राजनीतिक आकाशमा । गगन शिक्षा र स्वास्थ्यमा जनताको पहुँचको तेजिलो बाजागाजासहित प्रचारमा देखिए । जिते पनि । संसद्मा उनको उपस्थितिले पक्कै अर्थ राख्नेछ । यो संविधानको चरित्र नै कस्तो छ भने यसले समाजवादोन्मुख राष्ट्रको कल्पना गरेको छ । जुन असली कांग्रेसको  मूलाधार थियो । त्यसको प्रचार गर्नसक्ने तमाम व्याख्याता थिए । ती सबैलाई परिचालन त गरेन गरेन कांग्रेसले, बाबुराम भट्टराई र विनोद चौधरीले त्यो बिंडो थामिदिए । यसभन्दा गम्भीर उपहास (सिरियस जोक) के होला?    

मास बेस्ड पार्टीको अर्को गुण निरवछिन, निरन्तर रहनु  हो ।कांग्रेसको निरवछिन्नतामा शंका छैन । त्यसमा कांग्रेसका प्रतिस्पर्धीहरुसमेत कायल छन् । विसं. २००४ सालदेखि अनवरत बिनाविचलन प्रजातन्त्र र नागरिक हकको लागि हिँडेको छ कांग्रेस । निरन्तरतामा पटकपटक गोता खाएको छ पछिल्लो पटक, विषेशतः २०६२ –६३ पछि । एजेन्डाको निरन्तरता बेगर के अपेक्षा गरेको होला अहिले कांग्रेसले? प्रतिस्पर्धीले पटकपटक तिम्रो समाजवाद कहाँ गयोभन्दा अधिनायकवाद आउँछ भन्नेजस्तो कोक्ल्याँटो जवाफ दिइरह्यो कांग्रेसले । उद्योग बेची खायो भनिरहँदा त्यहि पैसोले बृद्ध भत्ता बाँडियो नि त भन्न सकेन कांग्रेसले ।

राज्यले उद्योग चलाउने, शिक्षा र स्वास्थ निजी क्षेत्रलाई दिनुहुँदैन भनेर डाँको ठूलो गर्न सकेन कांग्रेसले । कांग्रेसको समाजवादले उदारीकरण बोलेन भने उ साम्यवादी दल हुन्छ भन्न सकेन कांग्रेसले ।  अरु त अरु, समाजवादमा प्रजातन्त्र गाँसिदिनुहोस्, प्रजातान्त्रिक समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकिदिनुहोस् साम्यवाद हुन्छ भन्ने संस्थापक नेता बीपीको उक्तिसमेत भनिदिने कोही भएन । किनभने नारा, नीति वा एजेन्डाको निरन्तरता गुमायो कांग्रेसले । तिम्रो प्रधानमन्त्रीको उम्मेदवार को ? अधिनायकवाद आउँछ, तिम्रो धर्मसम्बन्धी धारणा के हो ? अधिनायकवाद आउछ ।

हरेक प्रश्नको जवाफ अधिनायकवादसँग लगेर जोड्नुजस्तो गम्भीर भुल केही थिएन । राजाको अधिनायकवादसँग पटकपटक जुधेर खारिएका, कठोर कम्युनिस्ट अधिनायकवाद ल्याउने प्रयत्नका विरोधमा सेरिएर, कुटिएर, काटिएर  लोकतन्त्रका लागि प्राण हत्केलामा राख्नेलाई आफ्नो पदीय अधिनायकवादी लौरो घुमाउँदै जब शीर्षहरु बजार डुल्न हिँडे सुरुवाल लगाउन भुलेर, जनताले कुरीकुरी गरिदिएका मात्रै हुन्, समानुपातिक नामक लबेदा दिएकाछन् । सबै सकिएको छैन । 
निरामय रहनु भनेको निरोगी रहनु हो । पछिल्लो समय कांग्रेस रोगी रह्यो ।

सबैथोक चाहिने रोगले त्यसका पहुँचवालाहरु ग्रसित भए । त्यो रोग पार्टीमा समेत सारेर छोडे । साधारण उदाहरण, प्रत्यक्षमा टिकट पाएका प्रभावशाली वा छँदाखाँदाका पदाधिकारीहरु किन हेल्नु, हेलिनु पथ्र्याे ? बिगत ३० वर्ष देखि एकै नाम सुनेर कान पाकिसकेको अवस्था बुझ्नै सकेन कांग्रेसले । एकै मान्छे योजना, भूकम्प, वैदेशिक नीति, राजनीति सबैमा निपुण हुन्छ भन्ने जसोगरी जनतामा गएपछि पाएको लोप्पाले चेतेन भने रोग अझै बल्झेला । 

भारतीय दलालीको घण्टा खुब बजाइयो कांग्रेसउपर । जनतालाई घण्टाकर्ण बनाइयो । कानमा ठूलो घण्टा झुन्ड्याई दिएपछि आफूले भारतीय दलालीको साउती गर्ने बेलामा जोडजोडले कांग्रेसका प्रतिस्पर्धीले त्यो घण्टा बजाएका मात्रै हुन् । राजेन्द्र महतो वा हृदयेश त्रिपाठीलाई पिठ्युँमा बोकेको त भर्खरमात्र हो । हिजो उसैले भारतीय दलाल, लम्पसारवादी भनेको प्रचण्ड बोकेको त अली अघिदेखि नै हो नि ।

खोइ त्यो भन्न सकेको कांग्रेसले? कि ‘प्राइम मिनिस्टर इन वेटिंग’ सँग त्यो पारसमणि छ जसले फलाम छोए सुन हुन्छ, हत्यारा छोए कामरेड ? जसरी कांग्रेसले गरेका हरेक गल्तीहरुले देश दिनानुदिन गिर्दो छ त्यसमा तीन दशक ‘पार्टी इन अपोजिसन’को  कुनै दायित्व हुँदैन? कांग्रेस यो सोध्ने गँगटा बेगर ओरालो कुदेको कुद्यै मात्र गरिरह्यो । विमलेन्द्र निधिलाई हराएर लुतो चिलाइ त मरेकै होला, राजेन्द्र महतो र राजेन्द्र लिङदेनको काउछो, प्रचण्डको स्वादे जिब्रो, रेल, तेल, झेल सबैकुरो एकै पल्ट किन बजार्न सकेन कांग्रेसले प्रतिस्पर्धीको थाप्लोमा? किनभने निरामय रहेन कांग्रेस । इन्दिरा गान्धीले सिध्याउन लागेपछि गणेशमानजीको नेपाल फर्किनु आत्महत्या हो तर्कको खण्डन गर्दै बीपी कोइरालाले भन्थे रे – तर, यहाँ मन्द विष पिउनुभन्दा उता गएर फाँसीमा झुन्डिनु श्रेयस्कर हुन्छ ।

नाकाबन्दीले आक्रान्त जनतालाई ढाँट कुरो गरेकै हो कांग्रेसले तर दलाली गरेर नभई आफ्नो अकर्मण्यता र असमञ्जस्य छोपेको मात्रै हो । त्यसपछिको सरकारले के त्यो उत्पात गरेछ र नाकाबन्दी फुस्स खुल्यो ? गरेको केही होइन । कांग्रेसी प्रधानमन्त्रीसँग भारत रुष्ट थियो, नाकाबन्दीभन्दा अघि, संविधान बन्नुअघि नै, भुइँचालोभन्दा पनि अघिदेखि । त्यसैले त सुशील कोइरालाले भारत भ्रमणको निम्तोसम्म पनि पाएनन् । त्यसैले भारतले कठालो समात्यो, महतोजी शिखण्डी बने । आज तिनै शिखण्डी अघि लाएर एक सेनापतिको समाप्ति गरियो । कुनै कांग्रेसले यो बोल्ने जरुरत नै ठानेन । 

अंग्रेजीमा ‘ब्याक फुट‘ भन्ने एउटा शब्दावली छ । कांग्रेस आफ्ना नीति, अजेन्डा र स्पस्ट ‘भिजन‘ बेगर ब्याक फुटमा बाहेक अरु कुनै अवस्थामा हुने सम्भव नै थिएन । अँग्रेजीमै ‘क्यारेक्टर अस्यासिनेसन‘ भन्ने अर्को शब्दावली छ, त्यसको ज्वलन्त उदाहरण पनि देख्न पाइयो यो चुनावमा । चाहे गगन थापाको विरुद्धमा होस् वा नवराज सिलवालकोविरुद्धमा वा रविन्द्र मिश्रका विरुद्धमा  ।

अँग्रेजीकै अर्को कथन छ मर्निंङ सोज द डे । ‘प्राइम मिनिस्टर इन वेटिंग’लाई चुनाव सकिएको क्षणमा बहालवाला प्रधानमन्त्रीले एउटा व्यंग्य गरे ‘उहाँ त अझै चुनाव गराउँदैन भन्दै हुनुहुन्छ होला’ भनेर । तर, त्यो निकै पछि आयो र त्यसले छु ? कठोर, सुष्क युग आउँदैछ कांग्रेसका लागि भन्ने छनक दिएको छ । त्यसैले कठिन बाटो हिंड्न तम्सिएको ब्रह्मदत्तले गँगटो लिएर हिँडेजस्तै अबको कांग्रेसले ती निःस्वार्थ सहयोगी लिएर हिँडे आफू पनि सुखी होला, अरुलाई पनि सुख देला । त्यो नगरी बाबुसाहेब हुने जमर्को गरेरै आत्महत्याको बाटो उँधो कुदिरहने हो भने अर्को चुनावसम्म बाँचेमा समानुपातिकको लवेदा नि नभेट्ला । 

सुध्रिने सूत्र मास बेस्ड पार्टीलाई सजिलो छ । ‘कोर्स करेक्सन‘ भन्छन् त्यसलाई । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई समयानुकूल जनताले बुझ्ने भाषामा बुझाऊ, लेख, पढाऊ, नयाँ अनुहारले नयाँ विचार सिञ्चित गर्न सक्नेछन्, तिनलाई अघि लगाऊ । हरेक वडा तहमा नेतृत्वका लागि अहिलेदेखि नै प्रत्यक्ष निर्वाचित हुने व्यवस्था मिलाऊ । अझै जनताले लघारेका छैनन् । ढुक्क होऊ । बाबुरामलाई भन्दा प्रदीप गिरीलाई पत्याऊ, ब्युँझ ।

NOC1-250x300