प्रधानमन्त्री देउवा > नेपालको संविधान : शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात

६ असोज, न्यूयोर्क, अमेरिका । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भने– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’’deuba_wf9xpeh5ee

यसै विश्वविद्यालयमा उनले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गरेका थिए ।

नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उनले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गरे ।

शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताए र प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त भएको बताए। उनले भने – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।”

सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उनले स्मरण दिलाए ।

प्रधानमन्त्री देउवाले भने– “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राख्छ ।”

“परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उनले भने ।

विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उहाँले उल्लेख गरे ।

बढ्दो संकीर्णवाद तथा धार्मिक अतिवादले समाजलाई असहिष्णु बनाएको र जातीय राजनीति हाबी भएर सामाजिक सद्भावलाई खल्बल्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले हरेक संस्कृतिका मुख्यमुख्य मान्यताको संरक्षण गर्न र वास्तविक समस्यासँग जुझ्न साझा धरातल पहिल्याउनु पर्ने र सहिष्णुता तथा सद्भाव कायम गर्नुपर्ने औँल्याए ।

कोलम्बिया विश्वविद्यालयका बौद्धिक व्यक्तित्व, विद्यार्थी र मित्रसहित विशिष्ट व्यक्तिहरुसँग दोस्रो पटक अनुभव साट्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले भने–“विश्वविद्यालयले निमन्त्रणा गरेकामा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । विविध समकालीन मुद्दामा अन्तक्रिया गर्न र अनुभवको आदानप्रदान गर्न यो मञ्चले योगदान गरेको छ ।”

नेपालमा प्रजातान्त्रिक संघर्षका लागि भएको आधा शताब्दीको आधुनिक इतिहास प्रकाश पार्न आफू यहाँ उपस्थित भएको बताउँदै उनले प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध, अप्ठ्यारा स्थितिमा पनि विधिको शासनप्रति प्रतिवद्ध, गरिबीले व्याप्त अतिकम विकसित एक मुलुकका रुपमा नेपाललाई प्रस्तुत गरे ।

नेपालले सशस्त्र द्वन्द्वको समाधानमा संवाद र वार्ताको माध्यम अपनाएको जानकारी दिँदै उनले जटिलतम परिस्थितिमा पनि नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्ष र प्रजातन्त्रप्रतिको गहिरो कटिबद्धतालाई प्रतिबिम्बित गर्नु विश्वकै लागि उदाहरणीय भएको बताए ।

आफ्नो जीवनको सम्पूर्ण ऊर्जा प्रजातन्त्रका लागि खर्चेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक विश्वास तथा विचारका कारण नौ वर्षको जेल जीवन र निर्वाचित प्रधानमन्त्री हुँदा निरंकुश राजाद्वारा दुईपटक हटाइएको स्मरण पनि गराए ।

सन् १९५० तिर आफू संलग्न रहेको पार्टी नेपाली काँग्रेसले नेतृत्व गरेको आन्दोलनबाट १०४ वर्षीय एकतन्त्रीय राणा शासनलाई अन्त्य गरेको स्मरण गराउँदै उनले दुर्भाग्यवश, त्यसबेलाका महत्वाकांक्षी शासकद्वारा प्रजातन्त्रलाई निमोठी पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई जेल हालेको र राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको ऐतिहासिक प्रसंग उल्लेख गरे ।

तीन दशकसम्मको लामो बलिदानीबाट सन् १९९० मा संसदीय प्रजातन्त्रलाई फर्काउन सकेको र त्यसपछि आर्थिक उदारीकरणको नीति अवलम्बन गरिएको उनले बताए । त्यसलगत्तै शुरु भएको आन्तरिक द्वन्द्वले मुलुकलाई एक दशक गाँजेको र त्यो स्थितिबाट फाइदा लिँदै नयाँ राजाले राजनीतिक शक्तिलाई बेवास्ता गरी निरंकुशता र अन्यौल लाद्ने काम गरे– प्रधानमन्त्री देउवाले भने ।

भूमिगत सशस्त्र विद्रोहीले राजनीतिक मूलधारमा आएर आन्दोलनमा सहभागी भएपछि जनताको शक्तिसामु राजा झुक्न बाध्य भएको उहाँले उल्लेख गरे ।

सन् २००६ मा सरकार र माओवादी विद्रोहीबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्रोहीले सबै निर्वाचनमा भाग लिएको र सरकारको नेतृत्वसमेत गरेको स्मरण दिलाउँदै उनले भने, ‘‘सन् २००८ मा नेपाली जनताले समावेशी चरित्रको संविधानसभालाई चुनेको र त्यसैले २४० वर्षको राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।’’

सन् २०१५ को दोस्रो संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक तथा समावेशी संविधान जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘‘त्यसले शान्ति प्रक्रियालाई टुंग्याएको र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि गर्यो ।’’

यो संविधानले सम्पूर्ण जातीय समुदायको आकाँक्षालाई आत्मसात् गरेको, लोकप्रिय संप्रभूतासहित ३१ प्रकारका मौलिक हकलाई अंगीकार गरेको र स्वतन्त्र न्यायालयलाई स्थान दिएको उनले उल्लेख गरे ।

संवैधानिक व्यवस्थाअनुरुप संघीय तथा प्रदेशिक संसद्मा एक तिहाई र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यसै साता सबै राजनीतिक दलको सहभागितामा तेस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण तबरमा सम्पन्न भएको र २० वर्षपछि स्थानीय तहमा नेतृत्व सिर्जना गर्ने काम भएको जानकारी गराए ।

संविधानअनुसर केन्द्रीय र प्रादेशिक संसद्को निर्वाचनको तयारीमा आफूहरु लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक स्वतन्त्रता र विकास एक अर्काका परिपूरक भएको धारणा राखे ।

उनले भने, ‘‘आर्थिक परिर्वतनबिना राजनीतिक परिर्वत दिगो हुन सक्दैन, विकास प्रक्रियामा जनता नभए आर्थिक विकास समावेशी बन्न सक्दैन । हामी जनतालाई विकास प्रक्रिया जीवन र स्वतन्त्रताको एक अङ्ग हो भन्ने महसुस गराउन चाहन्छौँ ।’’

चीन र भारतबीचको नेपालको रणनीतिक अवस्थितिले उनीहरुको द्रुत विकासबाट अधिकतम फाइदा लिनसक्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘‘नेपालका जनता ऊर्जाशील छन् । हामीसँग प्रचुर प्राकृतिक स्रोत र सम्पदा छ । लगानी र रोजगार प्रवद्र्धन गर्न हामीले अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोग र समर्थनको अपेक्षा राखेका छौँ ।’’

सन् १९४० को दशकमा नेपालले संयुक्त राज्य अमेरिकालगायत केही राष्ट्रसँग कूटनीतिक सम्बन्ध गाँसेको र आपसी हित र समझदारीमा यो सम्बन्ध आधारित रहेर सौहार्द र सहयोगात्मक रहँदै आएको उनले उल्लेख गरे ।

जनस्तरको सम्पर्क दुई मुलुकबीचको सम्बन्धको गतिशील पक्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयसँग नेपाली विश्वविद्यालयको सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए ।

सो अवसरमा प्रधानमन्त्री देउवासँग कोलम्बिया विश्वविद्यालयका विद्यार्थीले नेपालको समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिएका थिए । उनले विश्वविद्यालयका अध्यक्ष ली सि बोल्लीङ्गरलगायत त्यहाँका विभागीय सदस्य, भूपू विद्यार्थीलाई धन्यवाद व्यक्त गरे ।

 

ads