‘प्रचण्डले ‘तपाईंलाई लोकमानले तपाईंको भाई मार्फत १० करोड दिएको रे नी.. भनेपछि भाउन्न भएर उठेँ’

 photo

काठमाडौं,  असोज २ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले आफूलाई लागेको महाअभियोगबारे आफ्नो पूस्तकमा खास खुलाशा गरेकी छिन् । कार्कीद्वारा लिखित ‘न्याय’ नामक आत्मकथामा कार्कीले आफूलाई तत्कालिन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकमान सिंह कार्कीको मुद्दा सारिदिन बालुवाटारमै बोलाएर दबाव दिएको समेत खुलाशा गरेकी छिन् ।

आईतबार प्रकाशित नेपाल साप्ताहिकमा समेत उक्त घटनासम्बन्धि खुलाशा गरेकी छिन् । कार्कीको आत्मकथाको केही अंश नेपाल साप्ताहिकबाट  साभार गरिएको ।

गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले खारेज गरेको लोकमानसिंह कार्कीको नियुक्ति विरुद्धको मुद्दा पुनरावलोकन गर्नु भनी गरिएको आदेशले मुलुकभर सनसनी छायो । त्यसले प्रधानमन्त्री निवासलाई समेत झट्का दिएछ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले भेट्न भनी २०७३ असोज ४ मा उहाँका छोरा प्रकाश दाहालमार्फत मलाई बोलाउनुभयो ।

प्रकाश दाहाल बालुवाटारस्थित मेरो क्वार्टरमा आए र भने, “के काम छ अरे ! बाले तुरुन्त बोलाउनुभएको छ ।” प्रकाश दाहालले यसो भनेपछि केही जरुरी होला भनी लुगा लगाएर म हिँडेँ ।

प्रधानन्यायाधीश क्वार्टर र प्रधानमन्त्री क्वार्टरको साँधमा उत्तरतर्फ काठको सानो गेट छ । त्यो प्राय: प्रधानमन्त्री क्वार्टरतर्फबाट ताला लगाई बन्द गरिएको हुन्छ । मलाई बोलाउन आउँदा प्रकाश त्यही गेट खोली आएका थिए । म पनि त्यही गेटबाट गएँ । मेरा सुरक्षा गार्डद्वय क्याप्टेन शिवबहादुर थापा र शालिग्राम मरहठ्ठा मसँगै हुनुहुन्थ्यो । म प्रधानमन्त्री निवासको भुइँतलाको बैठक कक्षमा पुगेँ । त्यति बेला बिहानको ८ बजेको थियो । मलाई बस्न भनिएको ठाउँमा बसेँ । सायद प्रकाशले मलाई चिया भनिदिएका थिए, एक जनाले ग्रिन टी ल्याए । पिएर बसिरहेँ ।

त्यसको करिब १५ मिनेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जी आउनुभयो । उहाँका निम्ति दक्षिणतर्फ राखिएको कुर्सीमा बस्नुभयो । मैले नमस्कार गरेपछि उहाँले फर्काउनुभयो । उहाँको मुहारको मुद्रा अघिपछिजस्तो सामान्य थिएन । उहाँ केही हतास देखिनुहुन्थ्यो र अनुहारमा उत्तेजना देखिन्थ्यो । शारीरिक हाउभाउ पनि असामान्य थियो ।

सुरुमा बोल्दा नै एकाएक आत्तिएजस्तो गरी भन्नुभयो, “तपाईंहरूले गर्नसम्म गर्नुभयो ।” मतर्फ औंलाले इंगित गर्दै फेरि थप्नुभयो, “तपाईं बसेको कुर्सीमा लोकमानसिंह कार्की आएर बसे र मसँग बाझ्दै बुरुकबुरुक उफ्रे । केके न भएजस्तो गरे । ल, तपाईंहरूको आदेशले त बितायो । उनी भयंकर रिसाएका छन्, केके भने, केके भने । यो मुद्दा मेरो पालामा फैसला गर्नु भएन । मेरो कार्यकाल सात महिना बाँकी छ, जसरी पनि मेरो समय टारिदिनुपर्‍यो ।”

न्यायालयले गरेको आदेशको सन्दर्भमा अदालत कति दह्रो, कति स्वत्रन्त्र र निर्भीक रहेछ भन्ने टिप्पणी पाइएला भनेको त, देशको प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया सुन्दा म छक्क परेँ । प्रचण्डजीको कुराले मलाई आश्चर्य मात्र लागेन, पीडा नै भयो । मैले भनेँ, “यहाँ त सिंगो राष्ट्र हाँक्ने शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, संविधानले तोकेको एउटा अंगको प्रमुख उफ्रिँदैमा डराउने हो ? यहाँ मुसा त होइन, किन लोकमानजीसँग डराउने ?”

मैले यसो भन्दा उहाँको मुहार–मुद्रा अझै मलिन र विकृत देखियो । उहाँले आफ्नै कुरामा दबाब र जोड दिँदै भन्नुभयो, “होइन, होइन, त्यो भएन । तपाईंले भरसक सच्याउनु पर्‍यो वा मुद्दालाई टार्नु पर्‍यो ।”

कुराकानीकै सिलसिलामा प्रधानमन्त्रीले सबैभन्दा उदेकलाग्दो कुरा भन्नुभयो, “तपाईंलाई त तपाईंको भाइ हो कि, को होमार्फत १० करोड रुपैयाँ लोकमानले दिएको भन्ने हल्ला छ नि ! कसो हो त्यो !” उहाँको मुखबाट यस्ता कुराहरू सुन्दा मलाई भाउन्न नै चलेर आयो । मलाई कमजोर बनाउन खोजिएको बेतुकको कुरामा मैले कुनै तर्क गरिनँ । यतिन्जेल बिहानको ९:३० बजिसकेको थियो । मैले प्रचण्डजीसँग कुराकानी टुंग्याउने संकेत गर्दै भनेँ, “कुरा यत्ति हो कि अरू केही छ, प्रधानमन्त्रीज्यू !”

“यत्तिका लागि तपाईंलाई बोलाएको, विचार गरिदिनुपर्‍यो ।” प्रचण्डजीले यसो भनेपछि म जुरुक्क उठेर हिँडेँ । ढोकैनिर पुगेपछि उहाँ मेरो पछिपछि आउँदै भन्नुभयो, “लौ, मलाई अप्ठ्यारो पार्नु भएन ।”

मैले भनेँ, “हेर्नुस् प्रधानमन्त्रीज्यू, अब मेरो हातमा केही पनि छैन । मैले आदेश गरिसकेको कुरालाई पुन: हेर्न मिल्दैन । कानुनले पनि पुन: हेर्ने अधिकार दिँदैन । प्रक्रियामा गएपछि मुद्दाले एउटा कोर्स लिन्छ । तसर्थ म के नै गर्न सक्छु र !”

त्यसपछि उहाँको कुनै प्रतिउत्तर नसुनी म छिटोछिटो बाहिर निस्किएँ ।

संसदमा महाअभियोग, पराजुलीको चटारो

कथित महाभियोग प्रस्ताव दर्ताको नाटक मञ्चन भएपछि साँझ करिब ६:४५ बजे म अदालतबाट निस्किएँ । मैले सर्वोच्च छोड्दै गर्दा नाटकका योजनाकारमध्येका केही वकिलहरू बौरिएजस्तै गरी प्रांगणमा उभिएर मेरो बहिर्गमन हेरिरहेका थिए । मेरो प्रधानन्यायाधीश कार्यकालमा आफ्नो खुराफाती व्यवसाय फस्टाउन नपाएर तिलमिलाइरहेका उनीहरूले मेरो बहिर्गमनलाई उत्सुकताका साथ हेर्नु कुनै अनौठो थिएन । मेरो निस्कासनबाट उनीहरू आनन्दित हुनु केवल संयोग मात्र थिएन, निहित स्वार्थपूर्तिप्रतिको कलुषित अभिव्यक्ति पनि थियो ।

मपछि प्रधानन्यायाधीश हुने पालोमा रहेका व्यक्ति न्यायाधीश नभएर दलका कार्यकर्ता थिए । उनले सबैसँग छाती ठोकेरै ‘म काँग्रेस हुँ’ भन्ने गर्थे । त्यसमाथि कांग्रेस–माओवादी गठबन्धनको सरकार मविरुद्ध उभिएको थियो । त्यसैले उनले सरकारको भरपूर समर्थन पाएका थिए । उनी त शेरबहादुर देउवाको साथ र आड–भरोसा पाएका मानिस ।

म निस्केपछि सर्वोच्चमा अर्को नाटक मञ्चन भएछ ।

म निस्कँदै गर्दा सर्वोच्च अदालतमा साइत हेर्ने ज्योतिष, पुजारी हाजिर भइसकेका थिए । दिउँसै पूजासामग्री, फूलमाला, अक्षता, नैवेद्य तयार गरिएको रहेछ । म अदालतबाट निस्केपछि राती करिब ८:३० बजे न्यायाधीश गोपाल पराजुलीलाई कायममुकायम प्रधानन्यायाधीशको पदबहाली गर्ने कार्यक्रम सुरु भएछ । पदबहालीपछि कुन दिशामा फर्काएर कुर्सी राख्दा पदमा कायम रहँदासम्म विवाद आउँदैन भनेर दिशा हेर्नेसम्मको काम भएछ । कुर्सी राख्ने काम अदालतका कर्मचारीले नभएर सचिवालयका सचिव र केही पत्रकारहरूले गरेछन् ।

संसद्मा भर्खरै महाअभियोग दर्ता गरिएको प्रधानन्यायाधीशको पद के हुने भन्ने यकिन नहुँदै प्रधानन्यायाधीश नै नियुक्त भएसरह तामझामका साथ पदबहाली गरेको दृश्य पहिलोपटक देखिएको थियो । पराजुलीको पदबहालीलगत्तै सर्वोच्च अदालतको वेबसाइटबाट मेरो फोटो र बायोडाटा मेटाउनेसम्म काम भयो । सेवानिवृत्त भएपछि पनि खास अवधिसम्म कानुनबमोजिम उपयोग गर्न पाउने सवारी साधन र सुरक्षाकर्मी (सेना/प्रहरी) समेत तत्कालै बालुवाटारबाट फिर्ता तानिए ।

बालुवाटारस्थित प्रधानन्यायाधीशको क्वार्टर भूत–बंगलाजस्तै छ । दक्षिणतर्फ कुनै छेकबार नभएको त्यो सुनसान क्वार्टर, त्यसमाथि सारा सुरक्षा निकाय शून्य पारेर हिँड्दा के भयो होला ! त्यसमाथि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीका चाकरीबाज कर्मचारीहरूको बालुवाटार तुरुन्त छाड्ने आग्रह पनि सोही रात आइसकेको थियो ।

महाअभियोग मेरा लागि आकस्मिक थिएन, न त अप्रत्याशित नै । सत्ताधारी राजनीतिक दलका नेताहरू मविरुद्ध लागिपरेका छन् भन्ने मैले थाहा पाइरहेकी थिएँ । नपरून् पनि किन ? सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको नियुक्तिदेखि नै राजनीतिक दलका नेताहरूसँग मेरो विवाद सुरु भइसकेको थियो । उच्च अदालतहरूमा ८० न्यायाधीश नियुक्ति गर्दाताका त निकै ठूलो विवाद भयो । राज्य व्यवस्था सञ्चालनका सबै मूल मान्यताहरू भत्काएर महान्यायाधिवक्ता स्वयम् आन्दोलनमा उत्रिए । सरकारी वकिलहरूले इजलास बहिष्कारसम्म गरेका थिए । तर, म कहिल्यै डगमगाइनँ ।

एक न्यायाधीशको सबैभन्दा ठूलो सम्पत्ति इमान हो । एकपटक इमानमा चुकेपछि सधैँका लागि चुकिन्छ । त्यसैले मैले इमानमा बसेर काम गरेँ । कहिल्यै कसैको एक सिता भात पनि खाइनँ । म कसैको निगाहले न्यायाधीश र प्रधानन्यायाधीश भएकी थिइना त किन डराउनु ? किन अरूको अगाडि लत्रिनु ? त्यसैले मैले सम्झौताको कुनै पनि बाटो समातिनँ ।

मैले गरेका कतिपय आदेश र फैसलाले राजनीतिक दलका नेताहरूलाई निकै अप्ठेरो परेको मलाई थाहा थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बनाइएका लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दामा मसमेत संलग्न इजलासले पुनरावलोकनको निस्सा दिएको थियो । मुद्दा पुनरावलोकन भएपछि उहाँको नियुक्ति बदर भयो । लोकमान मुद्दाका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र मबीच सम्बन्ध चिसियो र भेटघाट पनि पातलियो । मैले कसैसँग सम्बन्ध बिग्रन्छ भन्ने डरले न्यायको बाटो छोड्न मिल्दैनथ्यो । न्यायालयभित्रै नेताहरूको दैलोदैलो चहारेर अनेकन् लाभका पद लिने, सेवासुविधा लिने, आर्थिक धन्दा गर्ने मानिसहरू पनि नभएका होइनन् । फरक यत्ति हो, मैले त्यस्तो गलत बाटो समाइनँ ।

मेरो इजलासमा आएका र आउने अन्य मुद्दाका कारण पनि राजनीतिक दलका नेताहरू त्रसित थिए । उनीहरूलाई मैले केवल न्यायको बाटो समाउँछु भन्ने थाहा थियो । मैले बिचौलियासँग मिलेर मुद्दामा सफाइ दिने काम गरिनँ । तथ्य र प्रमाणले जे बोल्छ, त्यसैअनुसारको फैसला गर्थें । आखिर न्यायाधीशको काम नै त्यही हो । संविधान र कानुनले तोकेको कर्तव्य पूरा गर्नेबाहेक मैले अरू केही गरेकी थिइनँ । तर, हाम्रो देश त्यस्तो देश हो, जहाँ आफ्नो कर्तव्य पूरा गर्दा सबैको आाखी भइन्छ किनभने यहाँ शक्तिकेन्द्रमा रहनेहरूले गैरकानुनी बाटो हिँड्न रुचाउँछन् ।

तत्कालीन सत्ताधारी राजनीतिक दलका नेताहरू मप्रति रुष्ट छन् भन्ने मलाई थाहा थियो । त्यसैले आफूविरुद्धका हरेक कदम थेग्न म तयार थिएँ । यसैबीच मैले मविरुद्ध महाअभियोग लगाउने तयारी भएको गाइँगुइँ सुनेकी थिएँ ।

(नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा न्याय  बुकहिल पब्लिकेसनले  असोजमा सार्वजनिक गर्दै  )

 

 

photo

NOC1-250x300