पातलिँदो ओजोन तह, बाक्लिँदो खतराको बादल

हेमन्त नेपाल

downloadके हो ओजोन तह ?

वायुमण्डलमा पृथ्वीको सतहदेखि करिब १५ देखि ३० किलोमिटर उचाइमा अक्सिजन ग्याँसका तीनवटा परमाणु मिलेर बनेको ग्याँसको तह नै ओजोन तह हो । यो ग्याँस हल्का नीलो रङको र तीक्ष्ण गन्धको हुन्छ  । फ्रेन्च भौतिकशास्त्री चाल्र्स फेब्री र हेनरी बुइसनले सन् १९१३ मा ओजोन तह पत्ता लगाएका थिए । लाखौँ किलोमिटर टाढा रहेको सूर्यबाट ताप, प्रकाशका साथसाथै परावैजनी विकिरणहरु आउने गर्दछन् । ओजोन तहले यी परावैजनी विकिरणहरुलाई सोस्ने काम गर्दछ जसले गर्दा पृथ्वीसम्म विकिरणहरु आउन पाउँदैनन् । साधारण शब्दमा भन्नुपर्दा महिलाहरुले सौन्दर्यका लागि प्रयोग गर्ने सनस्क्रीन झैँ यो पृथ्वीको सनस्क्रीन हो । 

किन हानिकारक छन् यी विकिरणहरु 

सूर्यबाट आएका यी विकिरणहरुको सम्पर्कमा आएमा  मानिसहरुमा आँखाको रोग, श्वास प्रश्वासमा समस्या,मुटुमा समस्या, रोगप्रतिरोधात्मक क्षमतामा कमी, गर्भमा रहेको बच्चाको स्वास्थ्यमा असर, छालाको क्यान्सर लगायतका गम्भीर समस्या देखा पर्दछन् । यसका अतिरिक्त बोटविरुवामा हुने प्रकाश संश्लेषण (Photosynthesis)   प्रक्रिया प्रभावित हुन गई पर्यावरणमा नकारात्मक असर पर्न जान्छ । त्यस्तै जलचरीय प्राणीहरु विशेषतः समुद्री जीवहरु पनि यसका सिकार हुन पुग्दछन् । यसरी पारिस्थितिक पद्धतिमा असर पुग्न गई कार्बनडाइअक्साइडको संचति बढ्न जानाले पृथ्वीको औसत तापक्रम बढ्न जान्छ ।

कसरी पातलिन्छ ओजोन 
साधारणतया उद्योग ,कलकारखाना, गाडीहरुबाट उत्सर्जन गरिएको , रेफ्रिजेरेटरबाट निस्कने , एयरकन्डिसनरबाट निस्कने क्लोरोफ्लोरो कार्बनहरु, हाइड्रोक्लोरोफ्लोरो कार्बनलगायतका रसायनहरुको संसर्गका कारण ओजोन तह पातलिने गर्दछ । संक्षेपमा यी रसायनहरुलाई ओजोन नष्ट गर्ने  पदार्थ (ozone depleting substancs ods) भनिन्छ । क्लोरोफ्लोरो कार्बनको एक अणुले दशौँ हजार ओजोन अणु नष्ट गर्ने तागत राख्दछ । भौतिक रुपमा निकै प्रगति गरेका मुलुकका जनताहरुको विलासीपूर्ण जीवन बिताउने शैलीका कारण पनि ओजोन तह क्षयीकरणमा मद्दत पुग्ने गरेको छ । विशेषगरी उत्तरी र दक्षिणी ध्रुवको माथिल्लो भागमा ओजोन तहको क्षयीकरण ज्यादा भएको पाइएको छ । सूर्यको किरण पर्ने मात्रामा ठूलो भिन्नता हुनुले पनि त्यहाँ स्थिति नाजुक भएको हो ।

हालसम्म भएका पहलहरु

सन् १९७५ मा वैज्ञानिकहरुले अन्र्टाटिका महाद्वीपको आकाशमा ओजोन तह गम्भीर रुपले क्षयीकरण हुन थालेको पत्ता लगाए । अष्ट्रियाको भियनामा सन् १९८५ मा ओजोन तहको संरक्षणका लागि भियना सम्मेलन सम्पन्न भयो । सन् १९८७ मा जब अन्र्टाटिकाको आकाशमा संयुक्त राज्य अमेरिकाको क्षेत्रफलको दोब्बर क्षेत्र बराबरको ओजोन तहको भूभाग छिद्र परेको थाहा भयो, त्यही वर्ष क्यानाडाकाृ मोन्ट्रियलमा अन्तरराष्ट्रिय सन्धि हस्ताक्षर गरियो । मोन्ट्रियल प्रोटोकोल भनिने उक्त सन्धिमा ओडिएसको उत्पादनमा बन्देज लगाउने सहमति गरिएको छ । नेपाल पनि उक्त सन्धिको हस्ताक्षरकर्ता मुलुक हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९५ मा सन्धि हस्ताक्षर गरिएको दिनको सम्झनामा प्रत्येक वर्षको सेप्टेम्बर १६ मा ओजोन तह संरक्षण दिवस मनाउने निर्णय गरेको थियो ।  सो प्रोटोकोल लागू गरिएपछि ओडिएसको प्रयोगमा कमी आएको भए तापनि पूर्णरुपेण रोकिएको भने छैन ।

नेपाललाई संकट 

नेपालका उत्तर र दक्षिण दुवैतर्फ भीमकाय जनसंख्या भएका, औद्योगिक रुपमा तीव्र गतिमा अगाडि बढिरहेका भारत र चीन छन् । क्लोरोफ्लोरो कार्बनको उत्सर्जन न्यूनीकरण गर्ने भनिए तापनि व्यवहारत : यो पूर्णरुपमा लागू भएको छैन । विषालु वायुमण्डलले गर्दा चीनमा प्रतिवर्ष १४ लाख व्यक्तिको र भारतमा प्रतिवर्ष ७ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यो ज्यादै खराब स्थिति हो । अझ २०१८ मा आएको एक रिर्पोट अनुसार  एसियामा अवैध रुपमा ओडिएसको उत्सर्जन भइरहेको छ । हाम्रै राजधानीलगायतका विभिन्न स्थानहरु यी लगायतका कारणबाट हुने जलवायु परिवर्तनको शिकार बन्न पुगेका छन् । तापमान वृद्धिले गर्दा तराईतिर मात्र देखा पर्ने  लामखुट्टेजन्य रोगहरु पहाडमा देखा पर्न थालेका छन् । नेपाल आफैँले ठूलो मात्रामा क्लोरोफ्लोरो कार्बन ग्याँस उत्सर्जन नगरे तापनि छिमेकी मुलुकहरुको कारणले गर्दा यसको नकारात्मक असर भोग्न विवश छ । नेपाल जस्ता अविकसित राष्ट्रहरुले ठूला राष्ट्रहरुसँग यस विषयमा कुरा गर्ने र क्षतिपूर्ति दाबी गर्ने साहस राख्नुपर्दछ ।

भुटानबाट सिकौँ 

अर्को दक्षिण एसियाली मुलुक भुटान पहिलो कार्बन नेगेटिभ मुलुक बन्न सफल  भएको छ । यसको अर्थ भुटानमा वार्षिक उत्सर्जन हुने कार्बन डाइअक्साइड ग्याँस  मुलुकको झन्डै ७२ प्रतिशत भूभाग ओगटेको वनले  पर्याप्त मात्रामा शेचन गरेको छ । यसका लागि भुटानले आफ्नो संविधान संशोधन गरेर वनजङगल कम्तीमा ६० प्रतिशत भूभागमा हुनैपर्ने नियम बनाएको छ ।  यो संसारकै लागि उदाहरणीय कार्य हो । यसले सम्पूर्ण पर्यावरणमा मद्दत पु¥याउँछ । 
आगामी दिनहरु
यस वर्षको विश्व ओजोन तह संरक्षण दिवस “शीतल राखौँ र मोन्ट्रियल प्रोटोकोल अगाडि बढाऔँ” भन्ने रहेको छ । वास्तवमै विगतमै भइसकेका सन्धिहरुको अक्षरसः कार्यान्वयन गर्न सकियो भने मात्रै हामीले पृथ्वीप्रति न्याय गर्न सक्छौँ । कार्बन उत्सर्जन नियन्त्रण गरेर पृथ्वीको तापमान बढ्नबाट रोक्नु अपरिहार्य भइसकेको छ । विज्ञानको विकाससँगै कार्बन प्रयोगका विभिन्न विकल्प पत्ता लागिसकेकोले त्यतातर्फ जोड दिनुपर्दछ । हामीले आगामी पिढीँहरुलाई अस्वस्थ हैन स्वस्थ पृथ्वी हस्तान्तरण गरेर जानुपर्दछ । यो पृथ्वी सबैको साझा भएकाले सबैले यो कुरा हृदयङ्गम गर्न जरुरी छ । 
 

 

photo

NOC1-250x300