नवउदारवाद नै हाम्रो समस्याको मूल कारक सिद्धान्त हो

 

हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाह छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ?     

यो सिद्धान्तको अनभिज्ञता नै मुठ्ठीभर मानिसहरूको हातमा शक्तिको कारण र लक्षण हो । नवउदारवादले संसारमा भइरहेको असाधारण र गम्भीर सङ्कटहरूलाई पैदा गर्नमा ठुलो भूमिका खेलेको छ । अर्थात सन् २००७–०८ को आर्थिक मन्दी, शक्ति र अर्थको चरम निकासी जसका बारेमा ‘पानामा पेपर’ले थोरबहुत जानकारी दियो । सार्वजनिक शिक्षा र स्वास्थ्यको क्षयीकरण, बाल निर्धनताको पुनरुत्थान, एक्लोपनको महामारी, जैविक प्रणालीको विनास, डोनाल्ड ट्रम्पको उदय । 

हामी यी समस्या र सङ्कटहरूलाई परिस्थितिजन्य भनेर बुझ्छौँ, यी समस्याहरू कुनै सिद्धान्तले उब्जाएको वा ती सिद्धान्तका नतिजा बिग्रेर आएका हुन् भन्ने तथ्यप्रति हामी अनविज्ञ छौँ । अधिकांशलाई यो सिद्धान्त वा कार्यप्रणालीका बारेमा थाहा छैन । यी तमाम सङ्कटहरूको सृजना गराइरहेको सिद्धान्तको नामसमेत थाह नहनुले यो सिद्धान्तको शक्ति कति होला ? आँकलन गर्न गाह्रो छ । 

नवउदारवाद यति व्यापक हुँदा पनि हामीले यसलाई कहिल्यै सिद्धान्तका रूपमा चिन्न सकेनौँ । हामी नजानिदो तरिकाले यस सिद्धान्तलाई स्वाभाविक रूपमा ग्रहण गर्छौँ । मानाँै यो डार्बिनको जैविक सिद्धान्त हो । तर यो सिद्धान्त मानव जीवनलाई असर पार्न र शक्तिको केन्द्र बदल्न जानीजानी प्रतिपादन भएको हो ।

सामान्यतया नवउदारवादले प्रदान गर्ने भनिएको स्वतन्त्रता सुन्दा आकर्षक सुनिन्छ तर यो स्वतन्त्रता ठुलाबडा कुलीनका लागि मात्रै हुन्छ न कि गरिबका लागि ।

नवउदारवादले मानवीय सम्बन्धमा प्रतिस्पर्धालाई परिभाषाको मुख्य कडी बनाएको छ । यसले जनतालाई उपभोक्ता भनेर परिभाषित गर्छ, जसका लोकतान्त्रिक छनोट किनबेचले निर्धारण गर्छ । जहाँ योग्यतालाई पुरष्कृत गरिन्छ र असक्षमतालाई दण्डित गरिन्छ । यसले ‘बजारले’ नाफा र समृद्धि ल्याउँछ नकि कुनै योजनाले भन्ने भान पार्छ । 

यी प्रतिस्पर्धालाई कम गर्ने कोसिसलाई स्वतन्त्रता लोकतन्त्रको बर्खिलाप गएको झैँ व्यवहार गरिन्छ । कर र कानुनी दायरालाई निकै कम गरिन्छ वा निरुत्साहित नै गरिन्छ र सार्वजनिक सेवाको निजीकरण गरिन्छ । ट्रेड युनियन र तिनका सामूहिक संवाद र मागलाई बजारले विकृतिका रूपमा चित्रण गर्छ । यथार्थमा ट्रेड युनियन र यिनका प्रयासले विजेता र पराजितहरूको तहगत संरचना अर्थात ‘हाइरार्की’लाई रोक्ने काम गर्छ । 

असमानतालाई दैविक देखाउने प्रयास गरिन्छ, अर्थात असमानतालाई उपयोगिता र अर्थ सृजनाको पुरस्कारका रूपमा देखाइन्छ । जसले धनी अझै धनी हुँदा गरिब अथवा निम्नवर्गको विस्तारै उन्नति हुन्छ भन्ने मान्यता राख्दछ । समतामूलक समाज बनाउने प्रयासलाई प्रत्युत्पादक र नैतिक रूपमा पतित देखाउने चेष्टा गरिन्छ । कसले कति र के पाउने त्यो बजारले निर्धारण गर्छ । 

हामी नवउदारवादका यी मतहरूलाई सहज र स्वाभाविक रूपमा आफूभित्र समाहित गर्छौँ । धनीहरू आफूले पाएका विशेष लाभलाई अर्थात शिक्षाको मौका, विरासत र वर्गलाई नजरअन्दाज गरी आफूसँग भएको धनसम्पत्ति, योग्यता र मेहनतको उपज भनेर दाबी गर्न लागिपर्छन् । गरिबहरू आफ्नो गरिबीका कारण आफैलाई ठान्दछन र आफैलाई दोषी करार गर्छन् । जब कि उनीहरू परिस्थितिलाई बदल्न सामथ्र्य राख्दछन् । 

पौल भरहेगले आफ्नो पुस्तक ‘ह्वाट एबाउट मी ?’ मा, स्व–नोक्सानी, भोजन विकार, डिप्रेसन, एक्लोपन, समाजको डर र अनेक चिन्ताको महामारीलाई नवउदारवादको नतिजा मान्न सकिन्छ भनेका छन् । बेलायत जसले नवउदारवादी नीतिलाई मजैले मलजल गरेर लागू गरेको छ । त्यसलाई युरोपको निस्तब्ध राजधानी भन्नु कुनै अस्वाभाविक कुरो होइन । हामी सबै नवउदारवादी हौँ ।

नवउदारवाद शब्दको उत्पत्ति सन् १९३८ मा पेरिसको एक बैठकमा भएको हो । बैठकमा सहभागी दुई पाहुना लुडविग भोन मिसेस र फ्रेडरिक हाएकले यो सिद्धान्तलाई परिभाषित गरेका हुन् । सन् १९४४ मा प्रकाशित हाएकको पुस्तक ‘दि रोड टु सर्फडम’मा उनी सरकारको व्यक्तिवाद सिध्याउने नीतिले निःसन्देह अधिनायकवाद ल्याउँछ भन्ने तर्क गरेका थिए ।

‘दि रोड टु सर्फडम’, लुडविग भोन मिसेसको पुस्तक ‘ब्युरोक्रेसी’ जत्तिकै चर्चित भएको थियो र पढिएको थियो । यो पुस्तक केही निकै सम्भ्रान्त र धनीहरूको नजरमा पर्न गयो, जसले यो सिद्धान्तलाई कर र करसम्बन्धीका नियमबाट उन्मुक्ति पाउने मौकाका रूपमा लिए । सन् १९४७ हाएकले यो सिद्धान्तको प्रचारका निम्ति ‘मोन्ट पेलारिन सोसाइटी’को स्थापना गरे । त्यस बखत यो संस्थालाई त्यतिबेलाका करोडपतिहरू र तिनका संस्थानहरूले आर्थिकरूपमा सहयोग गरेका थिए ।   

यी धनाढ्य र तिनका संस्थानका सहयोगमा हाएकले, डेनियल स्टेडमेन जोन्सले ‘मास्टर्स अफ दि युनिभर्स’मा भनेझैँ ‘एक किसिमको नवउदारवादी अन्तर्राष्ट्रिय’ बनाउन थाले जसका लागि प्राज्ञ, व्यापारी, पत्रकार र अभियन्ताहरूको ट्रान्स एटलान्टिक सन्जाल बनाउनुथियो । यो अभियानमा धनाढ्य सहयोगीहरूले शृङ्खलाबद्धरूपमा यसका पक्षपोषक विचारकहरूलाई आर्थिक सहयोग गरेका थिए । यो सहयोग अभियानमा ‘अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट’, ‘दि हेरिटेज फाउन्डेसन’, ‘दे क्याटो इन्स्टिच्युट’, ‘दि इन्स्टिच्युट अफ इकोनोमिक एफेयर्स’, ‘दि सेन्टर फर पलिसी स्टडिज’ र ‘दि एडम स्मिथ इन्स्टिच्युट’ थिए । 

उनीहरूले प्राज्ञिक तह र विभागहरूलाई सहयोग गरेका थिए । विशेषगरी सिकागो र भर्जिनिया विश्वविद्यालयमा सहयोग गरिएको थियो । समयसँगै, नवउदारवाद जबर्जस्त रूपले स्थापित हुन थाल्यो । हाएकको दृष्टिकोणबाट प्रभावित थुप्रै अमेरिकी समर्थक जस्तै मिल्टन फ्रेडमेनहरूले एकाधिकारको शक्तिलाई दक्षताको पुरस्कारका रूपमा बुझ्न् मदत पुर्यायो ।  

नवउदारवाद त्यस्तो देवता हो, जसको मृत्यु भइसक्यो तर पनि यसको प्रेत सिद्धान्त लड्खडाउँदै हिँडि नै रहेको छ र यसको एक मात्र कारक हो यसको अज्ञातता ।

यो अभियानले आफ्नो नाम र पहिचान गुमायो । सन् १९५१ सम्म पनि फ्रेडमेन आफूलाई नवउदारवादीका रूपमा खुसीसाथ चिनाउँथे । तर त्यसलगत्तै यो शब्द (नवउदारवाद) हराउन थाल्यो । अहिले पनि धेरैलाई यो शब्द नौलो लाग्दछ । नवउदारवादी विचार बलियो र स्थिर हुँदै गयो तर पनि लुप्त भएको यस विचारको वैकल्पिक नाम भने आएन ।

अत्यधिक आर्थिक सहयोगका बावजुद पनि सुरवाती चरणमा नवउदारवाद धेरै चर्चित थिएन । युद्धपछिको सोच सारा विश्वमा एकैखालको थियो । जोन मेनार्ड केइनिसको आर्थिक उपायलाई व्यापक रूपमा लागू गरिएको थियो । पूर्ण रोजगारी र गरिबी निवारण अमेरिकालगायतका पश्चिमी युरोपेली मुलुकहरूको साझा उद्देश्य थियो । धनाढ्यहरूका करको दर उच्च थियो । कुनै व्यवधानबिना सामाजिक सुरक्षाको व्यवस्था थियो । जनताका लागि नयाँ नयाँ सेवा र सुविधाको र सुरक्षा योजनाहरू थिए ।

तर सन् १९७० को दशकमा केइनिसियन नीतिहरू असफल हुन थाल्यो र एटलान्टिकका दुवैतर्फ आर्थिक सङ्कटको अवस्था देखिन थाल्यो । तत्पश्चात मूलधारमा नवउदारवादी नीतिले ठाउँ पाउन थाल्यो । नवउदारवादी नीतिका समर्थक पत्रकार र राजनीतिक सल्लाहकारका सहायोगमा विशेषतः मुद्रासम्बन्धीको नवउदारवादी नीति अमेरिकाको जिम्मी कार्टर प्रशासन र बेलायतमा जिम केलाघन सरकारले लागू गर्यो । 

जब बेलायतमा मार्गरेट थेचर र अमेरिकामा रोनाल्ड रेगन शक्तिमा उदाए । नवउदारवादका जम्मै नीति लागू गरियो, जसमा धनाढ्यहरूलाई भारी कर कटौतीको छुट दिइयो । ट्रेड युनियनलाई ध्वस्त बनाइयो, भारी मात्रामा सार्वजनिक क्षेत्रलाई निजीकरण, प्रतिस्पर्धाको बाटोमा लगियो । आई.एम.एफ (अन्तर्राष्ट्रिय मुद्रा कोष), विश्व बैङ्क, मास्त्रिक सन्धि र विश्व व्यापार सङ्गठनहरूका माध्यमबाट विश्वको अधिकांश मुलुकहरूमा नवउदारवादी नीतिहरू लादियो । अचम्मको कुरो यी नीतिहरू एक समयका वामपन्थी भनिएका पार्टीहरूले पनि लागू गरे । उदाहरणका रूपमा लेबर पार्टी र डेमोक्रेटिक पार्टी । 

छनौट र स्वतन्त्रताको आश्वासन दिने भनिएको सिद्धान्तलाई ‘अरू विकल्प छैन’ भनेर प्रचार नगरिनु अचम्म थियो । तर नवउदारवादको नीति लागू गर्ने सुरुवाती मुलुकहरूमध्येको पिनोसे शासित चिलीको एक कार्यक्रमममा हाएकले ‘व्यक्तिगत रूपमा म लोकतान्त्रिक भनिएको व्यवस्थामा हुने स्वतन्त्रताको सङ्कुचनभन्दा उदारवादी अधिनायकत्वलाई  सही मान्दछु’ भन्ने अभिव्यक्ति दिए । सामान्यतया नवउदारवादले प्रदान गर्ने भनिएको स्वतन्त्रता सुन्दा आकर्षक सुनिन्छ तर यो स्वतन्त्रता ठुलाबडा कुलीनका लागि मात्रै हुन्छ न कि गरिबका लागि । 

अर्थात मजदुर युनियन र तिनका प्रतिरोध, कर दायरा, प्रकृतिलाई बचाउने अभियानहरूबाट स्वतन्त्रता । कर दायराबाट स्वतन्त्रता हुनु भनेको अन्ततः गरिबलाई गरिब बनाउने नीति हो किनभने उठाउनुपर्ने कर उठाउन नसके राज्यकोषबाट अर्थको क्षय हुन्छ । 
 
नाओमी क्लिनले आफ्नो पुस्तक ‘दि सक डक्ट्रिन’मा भनेका छन् नवउदारवादी विचारकहरूले अलोकप्रिय नीतिहरू सङ्कटका बखत मुलुकहरूमा लागू गरिन्छ जतिखेर जनता विक्षिप्त हुन्छन् । उदाहरणका लागि चिलीमा पिनोसेको कू, इराक युद्ध, क्याटरिना आँधीपछिको अवस्थालाई लिन सकिन्छ । जहाँ यो नीति घरेलु स्तरमा लागू गर्न सकिँदैन । त्यहाँ यो नीति अन्तर्राष्ट्रिय रूपमा विभिन्न व्यापार सन्धिका माध्यमबाट लादिन्छ । जहाँ विदेशी लगानीकर्तालाई सामाजिक अवस्थालाई बिगार्न र वातावरणलाई दुरूपयोग गर्ने छुट दिइन्छ । 

जब–जब संसदहरू चुरोटको व्यापारलाई नियन्त्रण गर्ने वा खानेपानीको स्रोतहरूलाई माइनिङ (खनन) बाट जोगाउने, इन्धन विधेयकलाई फ्रिज गर्ने काम गरिन्छ वा यस्ता विधेयक पारित गरिन्छ तब कर्पोरेसनहरूले भारी मात्रामा क्षतिपूर्ति लिएकै हुन्छन् । लोकतन्त्रलाई रणमैदानमा परिवर्तन गरिन्छ । नवउदारवादको अर्को विरोधाभाष भनेको विश्वव्यापी प्रतिस्पर्धा परिमाण र तुलनामा हुन्छ । 

नतिजा सार्वजनिक सेवा मजदुर, बेरोजगार र सबै जनताका लागि जालसाजी र अफ्ठ्यारोको विषय बन्दछ र राज्य नियन्त्रणमुखी र दमनकारी हँुदैजान्छ । भोन मिसेसले आफ्नो सिद्धान्तले नोकरशाही व्यवस्थाका दुःखबाट मुक्त गर्छ भनेका थिए तर त्यस विपरीत उनको नीतिले जनतामा झन् ठुलो मार पर्न गयो । 

नवउदारवादलाई सुरुमा आफैलाई उकास्ने तिकडमका बुझिएको थिएन । तर अविश्वसनीय तरिकाले आफैलाई उकास्ने तिकडम बन्न पुग्यो । मुठ्ठीभरका पुँजीपतिहरूलाई अलग्याउने हो भने नवउदारवादको उभारभन्दा पहिलेका दशकभन्दा, नवउदारवादी युगमा (१९८० को दशकपछि) आर्थिक उन्नति कम भएको देखिएको छ । नवउदारवादी युगमा ट्रेड युनियन, कर कटौतीमा धावा बोलिनु र  निजीकरणलाई प्रोत्साहन दिइएको कारण, ६० वर्ष पुरानो सङ्कटपछि (सन् १९२०–२१ को आर्थिक मन्दी) आम्दानी र सम्पत्तिको वितरणमा असमानता उच्च विन्दुमा पुगेको छ । 

इन्धन, खानेपानी, यातायात, स्वास्थ्य सेवा, शिक्षा, सडकसेवा, कारागारजस्ता सार्वजनिक सेवाको निजीकरण वा बजारीकरणले ठुलठुला कर्पोरेसनहरूलाई जनता र सरकारसमेतबाट ठुलो मात्रामा धन असुलीको माध्यम बनेको छ । बेलायतमा भएका निजी स्वामित्व र अर्ध–निजी स्वामित्वका मालिक थोरै लगानी र धेरै शुल्कले अत्यधिक नाफा कमाइरहेका छन । रुस र भारतमा कुलीन व्यापारीहरू राज्य स्रोत र सम्पत्तिहरू भारी छुटमा पाइरहेका छन् । मेक्सिकोमा कार्लोस स्लिमलाई करिब सबै लेन्डलाइन र मोबाइल फोन सेवाहरूमा नियन्त्रणको सुविधा दिइयो । नतिजा उनी संसारको सबैभन्दा धनी मान्छे बन्न पुगे ।

जब गरिब झनै गरिब बन्दै जान्छ र धनी झनै धनी बन्दैजान्छ, धनीहरूका नियन्त्रणमा महत्वपूर्ण सम्पत्ति मानिएको मुद्रा पर्न जान्छ । भारी व्याजले ठुलो मात्रामा धनीहरूको खातामा भारी मात्रामा अर्थ सञ्चय हुन्छ । जब सेवा सुविधा र अत्यावश्यकीय सामग्रीका भाउ बढ्छ र राज्यबाट कुनै किसिमका सहयोग हुँदैन् तब यसले जनतालाई भारी ऋण र बोझमा पारिदिन्छ । अन्ततः यसले बैङ्क र तिनका साहुहरूलाई फाइदा पुर्याउँछ ।  

‘ह्वाई वी कान्ट एफोर्ड दि रिच’का लेखक एन्ड्रियु सेयर भन्छन्– पछिल्ला ४ दशक गरिबबाट धनीहरूमा सम्पत्ति सञ्चय मात्र भएको छैन, यो समयमा धनीहरूभित्र सम्पत्तिको सञ्चार भएको छ अर्थात नयाँ सेवा वा वस्तु उत्पादन गर्ने व्यापारीबाट धनको सञ्चार राज्य स्रोतमा नियन्त्रण राख्ने र व्याजखोर धनाढ्यहरूको खातामा सञ्चय भहेको छ । कमाएको सम्पत्तिलाई नकमाएको सम्पत्तिले ठूलो मात्रामा विस्थापित गरेको छ ।

नवउदारवादी नीतिहरूले सबै ठाउँमा बजारलाई असफल बनाइरहेको छ । बैङ्क मात्र होइन, सार्वजनिक सेवा दिने भनिएका कर्पोरेसनहरू असफल हुँदै गइरहेका छन् । यस सन्दर्भमा टोनी जुडले आफ्नो पुस्तक ‘इल फेअर्स दी ल्यान्ड’मा हाएकले अत्यावश्यकीय राष्ट्रिय सेवालाई ध्वस्त गराउन सकिँदैन, अर्थात प्रतिस्पर्धाले समाधान दिँदैन भन्ने कुरा बुझेनन् भनेर लेखेका छन् । यस अवस्था व्यापारले मात्र नाफा कमाउने हुन्छ र राज्यले जोखिम लिन्छ । राज्यको असफलता जब बढ्दै जान्छ, नवउदारवादी नीति त्यति नै फल्दैफुल्दै जान्छ । सरकारहरूलाई नवउदारवादी नीति कर कटौती गर्न, बाँकी भएका सार्वजनिक सेवाहरूलाई निजीकरण गर्न, सामाजिक सुरक्षा नीतिहरू असफल गराउन, कर्पोरेसन र विभिन्न धन्दाहरूलाई नियमहरूमा छुट दिन र जनतालाई नियमहरूले कस्ने बहाना र मौका दिन्छ । आफैलाई घृणा गर्ने राज्य प्रणाली हरेक सार्वजनिक सेवामा नङ्ग्रा गाड्छ । 

नवउदारवादले निम्त्याएको राजनीतिक सङ्कट आर्थिक सङ्कटभन्दा बढी खतरनाक हुन आउँछ । जब राज्यको काम कारवाही र अधिकार क्षेत्र साँघुरिदै जान्छ, मतदानबाट आफ्नो जीवन स्तर उकास्ने र परिवर्तन ल्याउने क्षमता ह्रास अवश्यम्भावी हुन्छ । नवउदारवादी नीतिले जनताको अधिकारको प्रयोग जनताको खर्च गर्ने क्षमताले निर्धारण गर्छ । तर जनताहरूबीच खर्च गर्ने क्षमताको ठुलो फरक रहन्छ विशेषतः ठुलो उपभोक्ता वा हिस्सेदारी लोकतन्त्र भएको समाजमा, नतिजा मत समानरूपमा वितरण हुदैन । 

यसले गरिब र मध्यमवर्गीय जनतालाई कमजोर र निरही बनाउँछ । जब दक्षिणपन्थी र पुराना वामपन्थी पार्टी नवउदारवादी नीति लागू गर्छन् तब गरिब र मध्यमवर्गका निरहिपन मताधिकारको वन्चना सावित हुन्छ । अन्ततः राज्यको ठुलो हिस्सा राजनीतिक प्रक्रियाबाट बाहिरिन्छ ।   

क्रिस हेजेस भन्छन– ‘फासीवादी अभियानले आफ्नो आधार सक्रिय राजनीति नभई निस्क्रिय राजनीतिबाट बनाउँछन र फासिवादीहरूले कथित रूपमा हारेका जनता जसको प्रतिनिधित्व र आवाज संस्थापन र राज्यमा समेटिएको हुँदैन तिनका सहयोगबाट सत्ता हत्याउँछन् । राजनीतिक सङ्कथन र बहस जब जनतामा जाँदैन, तब जनता नारा, चिह्न र उत्तेजना ल्याउने भावनाका पछि कुद्छन् । उदाहरणका लागि ट्रम्प प्रशासन र कार्यकर्तालाई तथ्य र तर्कको कुनै अर्थ हँुदैन । 

जुडले व्याख्या गरेका थिए, जब जनता र राज्यबीचको संवादलाई निस्तेज गरेर सम्बन्ध हुकुम र पालनामा झारिन्छ तब राज्यलाई बाँध्ने अस्त्र केवल शक्ति हुनपुग्छ । हाएकले चिन्ता गरेको अधिनायकवाद तब मात्र उदाउँछ जब सरकारहरू सार्वजनिक सेवा चुस्तरूपमा दिन नसकी नैतिक प्राधिकार गुमाउँछन र नतिजा ‘धोकाधडी वा झुटो आस्वासन, धम्की र अन्ततः जबर्जस्ती हुकुम मान्न बाध्य बनाइन्छ ।’ 

नवउदारवाद त्यस्तो देवता हो जसको मृत्यु भइसक्यो तर पनि यसको प्रेत सिद्धान्त लड्खडाउँदै हिँडि नै रहेको छ र यसको एक मात्र कारक हो यसको अज्ञातता । नदेखिने सिद्धान्तको नदेखिने हातलाई नदेखिने समर्थकहरूले प्रोत्साहन गरेका थिए । विस्तारै–विस्तारै ती नदेखिएकाहरूका पहिचान पत्ता लाग्दैछ । उदाहरणका लागि ‘इन्स्टिच्युट अफ इकोनोमिक एफेयर्स’ जसले सुर्ती उद्योगलाई कडीकडाउ गरेको नियमविरुद्ध मिडियाबाजी गरेर विरोध जनाएका थिए ।

जसलाई सन् १९६३ देखि गोप्य रूपमा ‘ब्रिटिस अमेरिकन टोबाको’ले आर्थिक सहयोग गर्दैआएको थियो । चार्लस र डेविड कोच भाइहरू जो संसारका धनीमध्येका व्यक्ति हुन्, जसले कुख्यात ‘ट्री पार्टी मुभमेन्ट’मा भारी आर्थिक सहयोग गरेका थिए जो जगजाहेर पनि छ । अझै अघि बढेर हेर्ने हो भने चाल्र्स कोचले विचारक (थिङ्कट्याङ्क) बनाउने प्रक्रियामा के भनेका थिए भने– ‘अनावश्यक आलोचनाबाट बाच्नका, कसरी संस्था नियन्त्रण र निर्देशित भएको छ, त्यसलाई व्यापकरूपमा विज्ञापन गरिनु हँुदैन’ ।

नवउदारवादी नीतिले प्रयोग गर्ने शब्दहरू बढी झुक्याउने हुन्छन् । जति तिनले अर्थ दिनुपर्ने हो । ‘बजार’ भन्ने शब्द सुनिदा त्यो शब्द हामीलाई निकै स्वाभाविक सुनिन्छ अर्थात गुरुत्व वा वायुमण्डलीय चापझैँ सहज सुनिन्छ । वास्तवमा बजार शक्ति सम्बन्ध र गठजोडले भरिएको हुन्छ । ‘बजारले चाहन्छ’ भन्नु कर्पोरेसन र तिनका हाकिमले के चाहन्छन् भन्ने अर्थ निस्किन्छ । ‘लगानी’, सेयरले भनेझैँ यस शब्दले दुई फरक अर्थ दिन्छ । पहिलो, उत्पादन र सामाजिकरूपमा काम लाग्ने गतिविधिमा पैसा खर्च गर्नु र दोस्रो, भएका स्रोत साधनलाई खरिद गरेर त्यसलाई नाफा, व्याज र भारी मात्रामा धन कमाउने दुहुनो गाई बनाउनु हो । 

यो शब्दको विभिन्न प्रयोजनका लागि प्रयोग हुनु भनेको ‘अर्थको स्रोतहरूलाई लुकाउनु हो’, नतिजा यसले हामीलाई अर्थ निकासी र अर्थ उत्पादनको भिन्नतामा अल्मल्याई दिन्छ । यी अज्ञातता र भ्रमहरू नामविहीनता र ठेगान नभएका अहिलेको आधुनिक पुँजीवादसँग गजबको जालो बनाउँछ, जसको नतिजा मजदुरहरूका लागि कसका लागि पसिना बगाउँदैछु भन्नेसमेत थाह हुँदैन । 

बहुराष्ट्रिय कम्पनी विभिन्न ठाउँमा यसरी लगानी गरिरहेका हुन्छन् । तिनका संरचना निकै कठिन हुन आउँछन् । तिनका असली लगानीकर्ता वा लाभका भागिदारी को हुन् भनेर पुलिसले समेत पत्ता लगाउने स्थिति छैन । किनभने विभिन्न किसिमका कर सम्बन्धका व्यवस्थाले सरकारहरूलाई छल गरिरहेका हुन्छन् र तिनका वित्तीय उत्पादनहरूलाई कसैले बुझ्दैन ।

नवउदारवादको अज्ञाततालाई मज्जैले जोगाइएको छ । हाएक, मिसेस र फ्रेडम्यान प्रभावित भएकाहरू नवउदारवाद शब्द प्रयोग गर्न रुचाउँदैनन् । आजकल नवउदारवादी शब्दको प्रयोग अपमान जनाउन मात्रै प्रयोग गरिन्छ । शब्द नवउदारवाद नै प्रयोग नगरे पनि उनीहरूले अर्को वैकल्पिक नीति दिँदैनन् । तीमध्ये धेरैजसोले आफूलाई शास्त्रीय उदारवादी वा उदारवादी भनेर चिनाउँछन् । यी  दाबीहरू भ्रामक र सङ्कोचयुक्त हुन्छन् । यसको पुष्टि तब हुन्छ, जब उनीहरू ‘दि रोड टु सर्फडम’, ‘ब्युरोक्रेसी’, अथवा फ्रेडमेनको ‘क्यापिटालिज्म एन्ड फ्रिडम’ पुस्तकहरूमा कुनै नवीनता छैन भनेर टिप्पणी गर्छन् ।  

यति कुराका बाबजुद नवउदारवादका केही सकारात्मक पक्ष छन् । कम्तीमा यसका सुरुवाती चरणमा । सुरुमा यस विचारको प्रष्टता थियो, यो नयाँ विचारलाई केही विचारकहरूले खुलेरै प्रोत्साहन गरेका थिए र यसलाई लागू स्पष्ट खाका तयार बनाएका थिए । यो विचारमा धैर्यता र दृढता थियो । अन्त्यमा ‘दि रोड टु  सर्फडम’ शक्ति सञ्चयको शक्तिशाली बाटो बन्यो ।

नवउदारवादको जित हुनुमा वाम शक्तिको र विचारधाराको असफलताको दर्साउछ । जब लेसेज–फेयर अर्थनीतिले सन् १९२९ मा विपत्ति ल्यायो, तब केयनेसले विस्तृत अर्थनीति ल्याए, यो सङ्कटबाट पार पाउनका लागि । तर जब सन् १९७० को दशकमा यो नीति असफल हुनपुग्यो र यस असफलताको मौका नवउदारवादी नीतिले लियो । तर पनि सन् २००८ मा नवउदारवाद असफल भयो र यसको भविष्य अनुत्तरित रहन गयो । तब न नवउदारवादको प्रेत अझै पनि हिँडिरहेको छ । 

८० वर्षको लामो समयसम्म पनि वाम र मध्यमार्गी विचारक र शक्तिहरूले अर्थनीतिको कुनै सामान्य खाका पनि तयार गर्न सकेन । लर्ड केयनेसका अर्थनीतिका आह्वानहरू पनि असफल भए । अहिले २१औँ शताब्दीका समयमा केयनेसका समाधानका शुत्रलाई लागू गर्नु भनेको अहिलेका स्वाभाविक समस्यालाई नजरअन्दाज गर्नु हो । केइनिसका पुराना उपायहरूमा जनतालाई गतिशील बनाउन गाह्रो हुन्छ । अर्थात सन् ७० को दशकमा देखिएका कमजोरीहरू अझै हटिसकेको छैन र महत्वपूर्ण कुरो केयनेसको नीतिले अहिलेको समयको सबैभन्दा गम्भीर दुर्दशा, वातावरण सङ्कटबारेमा निस्क्रिय रहेको छ । 

केयनेसवाद उपभोक्ता मागलाई प्रोत्साहन गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने मान्यता राख्दछ । तर उपभोक्ता माग र त्यससँग जोडिएको आर्थिक उन्नति वातावरण विनासका मुख्य कारक हुन् । केयनेसवाद र नवउदारवादको इतिहासले देखाइसकेको छ अहिलेसम्मको क्षतविक्षित व्यवस्थालाई सुधार्ने कुनै नीति छैन । अबको समस्यासँग जुध्न वैकल्पिक नीतिको प्रस्तावना आउनुपर्छ । मध्यमार्गी र वामशक्तिहरूले २१औँ शताब्दीमा नयाँ व्यवस्थाका लागि सुहाउँदो अर्थनीतिको ठोस कार्यक्रम ल्याउनुपर्ने अहिले प्रमुख आवश्यकता हो ।  

यो लेख द गार्जियनबाट अनुवाद गरिएको हो ।

 

photo

NOC1-250x300