कोशी ब्यारेजका सबै ढोका खोल्ने बेला भएको छैन



कोशी ब्यारेज

कोशी ब्यारेज
 

कोशीमा पानीको ठूलो बहाव आएकै छैन। पछिल्लो जानकारी अनुसार कोशीमा पानीको मात्रा साढे दुई लाख क्युसेक मात्र पुगेको छ। तीन लाख क्युसेक पुगेपछि भारत आफैले ती ढोका खोल्छ।

शुक्रबारदेखिको अविरल वर्षाको कारण कोशी ब्यारेजमा रहेका ५६ ढोकामध्ये ३७ वटा ढोका खोलिएका छन्। कोशी ब्यारेजका सबै ढोका खोल्नुपर्यो भनेर अहिले चारैतिरबाट आवाज उठ्न थालेको छ। तर सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोशी ब्यारेजमा पानीको बहाव बढेर राजविराज, विराटनगर लगायतका क्षेत्र डुबानमा परेको होइन।

यतिबेला राजविराज, विराटनगर लगायतका क्षेत्र डुबानमा पर्नुमा कोशी ब्यारेजको कुनै सम्बन्ध नै छैन। त्यसैले ब्यारेजका सबै ढोका खोल्नुपर्यो भनेर चिच्याउनुको कुनै तुक छैन। किनभने यो बेला कोशीतिर भन्दा अन्य क्षेत्रमा ध्यान दिनुपर्ने अवस्था छ। पश्चिमको राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध लगायत अन्य क्षेत्रमा ध्यान दिनु आवश्यक छ।

कोशीमा पानीको ठूलो बहाव आएकै छैन। पछिल्लो जानकारी अनुसार कोशीमा साढे दुई लाख क्युसेक मात्र पानीको मात्रा पुगेको छ। तीन लाख क्युसेक पुगेपछि भारत आफैले ती ढोका खोल्छ। पानीको बहाव अत्याधिक बड्यो भने मात्र ‘कोशी ब्यारेजको ढोका खोल’ भन्ने हो। कोशीको तटबन्ध भरिएर पानी नाघ्न थाल्यो भने बल्ल ‘गेट खोल, पानीको निकास देऊ’ भन्नु पर्ने हो। अहिले त्यो अवस्था आइसकेको छैन। सन् १९६८ मा बाढी आउँदा कोशीमा झन्डै ९ लाख क्युसेक पानी बगेको रेकर्ड छ। त्यो भन्दा पछि त्यति धेरै पानी आएको छैन।

एक सय ९९ वर्षका लागि हामीले कोशी ब्यारेजको ताला चावी नै भारतलाई दिएका छौं। ब्यारेजको व्यवस्थापन कसरी गर्ने, ढोका कहिले खोल्ने भन्ने भारतको टाउको दुखाईको विषय हो। कोशी ब्यारेजभन्दा तल नेपाल रहेको छ र अहिलेको अवस्थामा सबै ढोका खोलेमा हामीलाई नै असर पर्छ। नेपालकै भूभाग डुब्छ, सप्तरी जिल्लाको भूभाग डुब्छ।

विराटनगर, राजविराज क्षेत्रमा आइरहेको बाढी कोशी ब्यारेजको ढोका नखोलेर होइन, स्थानीय नदी तथा खोलामा बढेको पानीसँगै आएको हो। खाडो भन्ने नदीमा बाढी आएर त्यहाँ असर पुगेको हो। ब्यारेजबाट राजविराज उत्तरमा पर्छ भने विराटनगरमा कोशीको पानी नै पुग्न सक्दैन। नेपाल भारतको सिमा क्षेत्रमा ब्यारेज बनेकाले ढोका खोल्नु नखोल्नुको अर्थ भारतलाई बढी हुन्छ। ढोका खोल्दा वा बन्द गर्दा जेजस्तो असर पर्छ, त्यो बढी मात्रामा भारतलाई नै पर्छ। कोशीमा बाढी बढ्यो भने उनीहरुले ढोका खोल्दै जान्छन्। बाढी नबढ्दै ढोका खोल्यो भने ब्यारेजमा नै मर्का पर्छ।

कोशी ब्यारेजका सबै ढोका खोल्दा सप्तरी जिल्लाको पूर्वी भाग राजविराजभन्दा दक्षिणतिरको हनुमानगर क्षेत्रमा असर पर्छ। बाँध फुट्यो भने सुनसरी जिल्लालाई असर पर्छ। धेरै माथि बाँध फुट्यो भने चाहिँ विराटनगरलाई पनि असर पर्न सक्छ। पानीको बहाव हेरेर भारतले ब्यारेजका आधा ढोका खोलिसक्यो र आवश्यकता अनुसार खोल्दै जाला। त्यसैले अहिले हामीले कोशी ब्यारेजभन्दा पनि अन्य क्षेत्रमा ध्यान दिनुपर्छ।

नदीको छेउमा बाढी आउनु स्वभाविक हो। पहिला पहिला पनि बाढी आउँथ्यो तर खोलाको फाँट ठूला थिए र पानी सजिलै पास हुन्थ्यो। नदीको छेउछाउमा मानिसको बसोबास नहुँदा आजजस्तो हल्ला हुँदैनथ्यो। बाढी आउँथ्यो, जान्थ्यो। मानिसहरु नदीको वरीपरि बस्ती बसाउन थाले। सडक, घर र विभिन्न संरचना बनाउन थालेपछि पानी सहजै पास हुन सकेन। ढल र खोला पनि मिचिन थाले। मानिसहरू खोलाको भूभाग मिचेर संरचना बनाएर बस्न थालेपनि कयौं वर्षसम्म त त्यसको खास असर देखिएन। तर अहिले पानीले निकास खोज्यो र यो अवस्था आएको हो, अरु केही होइन।

कोशी ब्यारेज बनाउनुको पहिलो उद्देश्य बाढीबाट हुने क्षती रोक्ने थियो। त्यसमा भारतले सफलता हात पार्यो। भारतले कोशीलाई तह लगायो, जसले बिहारको सिचाईमा ठूलो सहयोग पुग्यो। ब्यारेज नबनाएको भए कोशी नाच्थ्यो। कोशी नदी सर्दै सर्दै पश्चिम आइरहेको छ। एक सय वर्षमा एक सय ८ किलोमिटर पश्चिम सरेको छ।

गंगामा गएर मिल्ने विन्दुसम्म कोशीको दुवैतिर तटबन्ध बनाइएको छ। बाढीले त्यो तटबन्ध तोड्यो भने २०६५ सालको भन्दा ठूलो विध्वंश हुन्छ। ५० वर्षदेखि त्यो तटबन्ध तोडिएको छैन।

(शिक्षक मासिकका सम्पादक तथा कोशी ब्यारेजका विज्ञ पत्रकार दाहालसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)

ads