के थियो माओवादी ‘जनयुद्ध’: आन्दोलन कि ‘राजनीतिक व्यवसाय?

ध्रुव राज अधिकारी Dhruba_Adhikari_cover

सदर्भ: जनयुुद्ध दिवस २०७४ फाल्गुन ।

     फ्रान्सेली क्रान्तिलाई कसरी हेर्नुहुन्छ भनी सोधिएको एक प्रश्नको जवाफमा तत्कालीन चिनियाँ विदेशमन्त्री चाओ एनलाइको जवाफ थियो– त्यसको मूल्याङ्कन गर्नसक्ने समय आइसकेको छैन।

माओवादी ‘जनयुद्ध’ को अन्त्य भएको त बाह्र वर्षमात्रै पुगेको छ। त्यसकारण, त्यसका बारेमा सम्पूर्ण विश्लेषण गर्न अहिल्यै सम्भव छैन। किनभने, इतिहासका ठूला घटनाको मूल्याङ्कन गर्न भावना र समयका दृष्टिले ‘दूरी’को अवश्यकता हुन्छ।

ठूला ऐतिहासिक घटनाको पक्ष र विपक्षमा एकातिर शक्ति सन्तुलन र त्यसले निर्धारण गर्ने ‘डिस्कोर्स’ र ‘काउन्टरडिस्कोर्स’ हरु र अर्कोतिर पक्ष र विपक्षमा हुने भावनात्मक उद्वेलनका कारण समय र परिवेशका दृष्टिबाट एउटा ‘दूरी’कायम नगरी साँगोपाँगो र अन्तिम विश्लेषण गर्न सकिन्न।

तर, फेरि पनि त्यो अभूतपूर्व गृहयुद्ध साम्य भएको बाह्र वर्ष पुगिसक्दा हामीले अवश्य पनि विश्लेषणका लागि केही सापेक्षित ‘दूरी’को सुविधा प्राप्त गरेका छौं। त्यो ऐतिहासिक परिवेशमा हामी हिजोजस्तो भावनात्मक हिसाबले निथ्रुक्क भिजेका पनि छैनौं। त्यसकारण, माओवादी ‘जनयुद्ध’का बारे केही टिप्पणी गर्ने प्रय्रत्न गर्नु अन्यथा भने नहोला।

माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पुग्दा हामीले अझै पनि केही केन्द्रीय प्रश्नको खास जवाफ प्राप्त गर्न सकेका छैनौं— माओवादी जनयुद्ध के थियो? यो सामाजिक आन्दोलन थियो वा ‘राजनीतिक उद्यम’को उपज थियो? जनयुद्धका कारण देशमा भएका भनिएका परिवर्तन बाट सामाजिक शक्तिसम्बन्धमा खास परिवर्तन आएका छन् कि छैनन्? गणतन्त्र, संघीयता र समावेशिताजस्ता जनयुद्ध निःसृत उपलब्धिले नेपाली जनताको जीवनमा खास कुनै परिवर्तन ल्याउन सकेका छन् कि छैनन्?

सबभन्दा पहिले त पहिलो प्रश्नबाट सुरु गरौं। यदि माओवादी जनयुद्ध उत्पीडित वर्ग, क्षेत्र र समुदायको खास दुःखलाई सम्बोधन गर्न सुरु भएको थियो भने ती समुदायका दुःख आज के कति कम भएका छन्? अनि माओवादी जनयुद्धमा नै सामेल बहुसंख्याको अवस्था युद्ध सुरु हुनुभन्दा पहिलेभन्दा अहिले घटेको छ कि बढेको छ? जनयुद्ध सुरु भएयता विभिन्न अवतार हासिल गरेको माओवादीले किन बारम्बार ती समुदायसम्बन्धी नीतिमा परिवर्तन गरिरहेको छ? उदाहरणका लागि पहिचानको राजनीतिका सबालमै पनि किन माओवादी पार्टीको अडान जहिले पनि शक्तिआर्जनको मूल उद्देश्यसित गाँसिएर बदलिने गरेको छ?

मुठ्ठीभर मान्छेलाई माओवादी पार्टी स्वर्गजस्तो छ। पार्टी सानो हुँदै गए पनि एकथरीलाई अवसर कुमालेको चक्रजस्तो घुमीघुमी आउने गरेको छ। बहुसंख्यकका लागि नर्कजस्तो छ माओवादी पार्टी।

आज शान्ति सम्झौता सम्पन्न भएको १२ वर्ष वितिसक्दा पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरु रोजगारीका लागि खाडी भासिने क्रम रोकिएको छैन, बढेको छ। स्वयम् माओवादी पूर्व लडाकूहरु ८० प्रतिशतभन्दा बढी खाडी भासिइसकेका छन्। माओवादी युद्धमा सामेल ९५ प्रतिशतको भविष्य उजाडिएको छ। उनका आफन्तहरुले र विरोधीहरुले उनीहरुलाई खुचिङ भनिरहेका छन्। मुठ्ठीभर मान्छेलाई माओवादी पार्टी स्वर्गजस्तो छ। पार्टी सानो हुँदै गए पनि एकथरीलाई अवसर कुमालेको चक्रजस्तो घुमीघुमी आउने गरेको छ। बहुसंख्यकका लागि नर्कजस्तो छ माओवादी पार्टी।

१७ हजारमान्छेको ज्यान जाने, हजारौंको सिउँदो पुछिने, हजारौं बालबालिक टुहुरा बनाउने अवस्था सिर्जना गरेर अनि लाखौं युवाहरुको भविष्य उजाडेर माओवादी नेताहरुको एउटा पंक्ति काठमाडौंमा महल ठड्याउन र आफ्ना छोराछोरीको भविष्य सिगार्न व्यस्त छ। उनीहरु सलहजस्तो कहिले कांग्रेसको बारीमा त कहिले एमालेको बारीमा पसेर अन्न खाइरहेको छन्।

माओवादीमा कसैलाई सुखै सुखको स्वर्ग छ, कसैलाई दुःखैदुःखको नर्क छ। युद्ध सुरु हुँदा समाजका एक से एक प्रतिभा उक्त दलमा सामेल भएका थिए। ती प्रतिभाहरुलाई एक एक गरी निमोठेर त्यो दलमा ‘मिडिओकर’हरुको राज छ। उनीहरु देशै ‘मिडिओकर’हरुको जिम्मा लगाउन आतुर छन्।

माओवादी नेताहरु यति कृतघ्न छन् कि युद्धमा सहभागी भएकै कारण विभिन्न मुद्दामा तानिएर जेल जानेहरुलाई भेट्न र सान्त्वना दिन पनि उनीहरुले छाडिदिएका छन्। गरीब जनताका छोराछोरीलाई जेलमा सडाएर आफू सत्ताको कुर्सीमा विराजमान हुन पाए त्यसमा माओवादी नेताहरुलाई कुनै संकोच छैन।

माओवादी नेताहरु यति कृतघ्न छन् कि युद्धमा सहभागी भएकै कारण विभिन्न मुद्दामा तानिएर जेल जानेहरुलाई भेट्न र सान्त्वना दिन पनि उनीहरुले छाडिदिएका छन्। गरीब जनताका छोराछोरीलाई जेलमा सडाएर आफू सत्ताको कुर्सीमा विराजमान हुन पाए त्यसमा माओवादी नेताहरुलाई कुनै संकोच छैन।

रामहरि हत्याकाण्डमा पार्टीभित्रै झूटो आरोप लगाएर माथिल्लो स्तरका नेता बचाउन बलिको बोको बनाइएका व्यक्तिहरुले अहिलेसम्म न्याय पाएका छैनन्। उनीहरुलाई विभिन्न प्रलोभन र त्रास देखाएर अदालतमा उपस्थित हुन पनि दिइएको छैन।
यीलगायतका तथ्य हेर्दा र माओवादीको विभिन्न तहको नेतृत्वमा देखिएको अभूतपूर्व स्तरको लोभ अनि न्याय, नैतिकता, नीति, मूल्य र विधिको सर्वथा अभावलाई नियाल्दा माओवादी आन्दोलन हिजो आंशिक रुपमा सामाजिक आन्दोलन रहेको भए पनि आज पूर्ण रुपमा ‘राजनीतिक उद्यम’बाहेक केही रहेको छैन भन्न कर लाग्छ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशिता माओवादी आन्दोलनका ‘लिगेसी’ हुन् नै। यिनले देशलाई अगाडि बढाउन सघाउने छन्। तर,यिनको प्राप्ति जनयुद्धको सुरुआती उद्देश्य थिएन। त्यसकारण, यिनलाई जनयुद्धको ‘सन्तान’ भन्दा पनि संसादवादी शक्तिहरुसितको सहकार्यको ‘झड्केलो सन्तान’ भन्न उपयुक्त होला।

सँगसँगै यी अधिकार प्राप्तिका लागि जनयुद्ध नै गर्नुपर्ने थियो कि थिएन? अनि जनयुद्धको क्रममा अपनाइएका ‘जालीफटाहा र सुराकी सफाया’का नीति कति सही थिए? त्यस विषयमा अब माओवादीले जवाफ दिने बेला आएको छ।

माओवादीका दस्तावेज हेर्दा हरेक ‘सफाया’ वा व्यक्तिहत्याका घटना केन्द्रीय समितिको निर्णयपछि मात्रै भएका देखिन्छन्। अर्थात्, उनीहरुको दस्तावेजअनुसार कसैको ज्यान लिने निर्णय उक्त पार्टीको केन्द्रीय समितिले मात्रै गर्न सक्थ्यो।

त्यो नीतिका परिणामस्वरुप समाजमा मात्रै होइन, माओवादी पार्टीभित्रै पनि जनयुद्धका क्रममा ‘प्रतिक्रयावादीको एजेन्ट’, ‘गद्दार’ आदि अरोप लगाएर थुप्रै सहकार्मीको हत्या गर्ने काम माओवादी नेताहरुका तर्फबाट भएको छ। डा.बाबुराम भट्टराईलाई सहयोग गरेका कारण युद्धको मोर्चामा असहयोग गरेर कतिपय योद्धाहरुको परोक्ष हत्या भएको छ। त्यसबारे माओवादीका नेताहरुले ग्लानीबोध कहिले गर्ने हो? सम्बन्धित पक्षसित उनीहरुले माफी कहिले माग्ने हो? अथवा बालकृष्ण ढुंगेलजस्ता ‘बलिका बोका’ तयार गरेर आफू पानीमाथिको ओभानो पो बन्ने हो कि?

शक्ति राज्यमा मात्रै केन्द्रित छ भन्ने माओवादी दर्शनको दिग्भ्रमित निस्कर्षका कारण पनि माओवादी आन्दोलन सुरु भएको थियो। खासमा शक्ति राजनीतिक र सामाजिक काय (सोसियल र पोलिटिकल बडी)मा हाम्रो शरीरमा रक्तधमनीका हाँगाहाँगामा रगत फैलिएजस्तो फैलिएको हुन्छ र राज्य, सेना, प्रहरी आदि भनेका त शक्तिका ‘नोड’ वा गाँठाहरु मात्रै हुन् भनी मिसेल फुकोले उहिल्यै औंल्याएका थिए।

बालकृष्ण ढुंगेलहरु जेल जाने हो भने उनलाई जेलमा भेट्न नजाँदैमा, उनको गिरफ्तारीको विरोध नगर्दैमा अन्य मुद्दाहरुमा ‘सफाया’को निर्णय केन्द्रीय समितिबाट गराउनेहरु तानिने हो कि होइन? यी प्रश्नहरुलाई उठाउने आवश्यकता कसैलाई महशुस भएको पाइँदैन।
माओवादीले राजालाई त फाल्यो। त्यो समाज विकासको हिसाबले एक कदम अगाडि थियो। तर, त्यसले समाजमा विद्यमान शक्तिसम्बन्धमा कुनै तात्विक परिवर्तन ल्याएको छैन। अब दलका नेताहरु नयाँ राजा बनेका छन्। स्थानीय स्तरमा तिनका कार्यकर्ता आधुनिक जाली फटाहा बनेका छन्। सामन्तवाद सबभन्दा बढी जब्बर सामान्तवादकै विरुद्ध लडेको भनिएको माओवादी पार्टीमा छ। पूरै आन्दोलन अमुक व्यक्तिका लागि ‘अध्यक्ष’ र केही मुठ्ठीभर व्यक्तिका लागि लाभको पदका लागि सौदाबाजीको हतियार बनेको छ।

शक्ति राज्यमा मात्रै केन्द्रित छ भन्ने माओवादी दर्शनको दिग्भ्रमित निस्कर्षका कारण पनि माओवादी आन्दोलन सुरु भएको थियो। खासमा शक्ति राजनीतिक र सामाजिक काय (सोसियल र पोलिटिकल बडी)मा हाम्रो शरीरमा रक्तधमनीका हाँगाहाँगामा रगत फैलिएजस्तो फैलिएको हुन्छ र राज्य, सेना, प्रहरी आदि भनेका त शक्तिका ‘नोड’ वा गाँठाहरु मात्रै हुन् भनी मिसेल फुकोले उहिल्यै औंल्याएका थिए।

जबसम्म यसरी विकेन्द्रित र जताततै फैलिएका शक्तिका सम्बन्धहरुमा परिवर्तन आउँदैन तबसम्म एउटा राजा हटाए पनि अरु कैयौं राजा जन्मिने रहेछन्। त्यसकारण, मुख्य कुरा कुनै एउटा संस्था भत्काउनु रहेनछ बरु नयाँ ढंगका शक्तिसम्बन्धहरुको विकास गर्न सक्नु रहेछ। यो मामिलामा माओवादी आन्दोलन पूर्णतः असफल भएको छ।

अर्को महत्वपूर्ण विषय, माओवादीले परिवर्तनका नाममा जसरी विवाह, ब्रतबन्ध, दशैं, तिहार आदिजस्ता समाजिक संस्कारको सनातन परम्परामाथि हामला गरे त्यो दाइजो प्रथाजस्ता कुप्रथाका हकमा सही थियो। तर, माओवादी उक्साहटमा दशैं, तिहारजस्ता पर्व अनि विवाह, न्वारान, ब्रतबन्धजस्ता पारिवारिक र समाजिक संस्कारलाई बहिस्कार गर्दा माओवादीमा लागेका युवाहरु परिवार, नातेदार र समाजबाट अलगथलग हुँदा उनीहरुलाई आफ्नो बहुपासमा ल्याउन र उनीहरुको ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्न माओवादी नेताहरुलाई सजिलो भयो।
सामाजिक संस्कार भनेको व्यक्तिको ‘सेल्फ–कल्टिभेसन’को महत्वपूर्ण माध्यम भएको चिनिया दार्शनिक कन्फ्युसियसको भनाइ छ।

चीनमा माओले सर्वहारा सांस्कृतिक क्रान्तिको समय कन्फ्युसियसका शिक्षामाथि गरेको आक्रमण र माओवादीहरुले नेपालमा सकारात्मक सामाजिक संस्कारमाथि समेत गरेको आक्रमणको उद्देश्य एउटै थियो–युवाहरुलाई भावनात्मक हिसाबले ‘भल्नरेबल’ बनाउनु र उनीहरुलाई आफ्नो उद्देश्यमा प्रयोग गर्नु। एक हिसाबले उनीहरुलाई भावनाको बन्दी बनाएर आफ्नो उद्देश्यका लागि प्रयोग गर्नु। के पनि दाबी गर्न सकिन्छ भने–माओवादी युद्ध मूल रुपमा विचारधाराद्वारा सञ्चालित भन्दा पनि युवा भावनाहरुको दोहनबाट परिचालित थियो। यो विषयमा बृहद् सोधको नै खाँचो छ।

उपरोक्त दृश्यहरु कुनै अन्तिम निष्कर्ष होइनन्, तर माओवादी आन्दोलनलाई बुझ्न सघाउने एउटा ‘मोजाइक’का अंश भने पक्कै पनि हुन्।

(अधिकारी साउथ एसियन युनिभर्सिटीबाट एमए अन्तर्राष्ट्रिय सम्बन्धमा एमए गरेका छन् भने अहिले नेपालमा अंग्रेजी साहित्यमा एमफिल गर्दैछन्।)

 

photo

NOC1-250x300