केपी ओलीको वचनमा घमण्डको संकेत

कृष्णा पौडेल

स्थान– ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल परिसर । मिति– ०७४ मंसिर २४ गते आइतबार ।

अस्पतालको औपचारिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मेडिकल हबको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । तर, मुुलुकमा संघीयताको सुरुवातको पहिलो खुट्किलो प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको परिणाम नै तातो बहसको विषय भइरहेका बेला ओलीको वक्तव्यमा समय सान्र्दभिक तातो हेडलाइन नभेटेपछि पत्रकारले ओलीलाई प्रश्न गरे–

“एमालेले यो निर्वाचनमा दुई तिहाई ल्याउने सम्भावना देखिएको छ । अब सरकार निर्माणको प्रक्रियाअघि बढ्छ होला ? यो रिजल्टलाई तपाईले कसरी लिनुभएको छ ? सरकार गठनको प्रक्रियालाई कसरी अघि बढाउनुहुन्छ ? तपाई एउटा कमाण्डर हुनुहुन्छ । ”

ओलीको जवाफ थियो “मैले यस हस्पिटलको स्थापनालाई राम्ररी लिएको छु । सकारात्मकरुपमा नै । यसको उन्नती होस्, प्रगति होस्, सफलता होस् । यसले विमारीको राम्रो उपचार गरेको मैले पाएको छु र म यस हस्पिटलको सफलताको कामना गर्दछु । मैले भनेको छु मेरो तर्फबाट हुनुपर्ने सहयोग हुन्छ । ”

पत्रकारले फेरि पनि खोस्रिन छोडेनन् –“अब सरकार र देशका बारेमा बताइदिनोस् न, तपाई त मियोको रुपमा हुनुहुन्छ । अहिले देशव्यापीरुपमा वामपन्थीले जितिरहेको छ…

ओलीले फेरि पनि प्रश्नको सही उत्तर दिएजसरी गम्भीर भएर भने “अँ…नेपाललाई मेडिकल हबका रुपमा, एजुकेशन हबका रुपमा विकास गर्न सकिन्छ । त्यस दिशामा यस हस्पिटलले महत्वपूर्ण काम गर्न सक्छ । ”

अब भने पत्रकार पनि ओलीतिरै बहकिए । अर्थात् ओलीले ठूलो पार्टी बनेकोमा उम्रिएको दम्भंमा पत्रकारलाई पनि समाहित गरे । सायद पत्रकारले असजिलो माने वा ओलीको मुड बुझे ।

अस्पताल बाटै हेडलाइन समाचार बनाउने निष्कर्ष साथ पत्रकारले प्रश्न गरे– “त्यसो भए अब ठूला नेताहरु उपचारका लागि विदेश जानबाट रोकिन्छन् ? यो हस्पिटलमा त्यस्तो किसिमको कुनै आभास पाउनु भा‘छ ?

“तपाईहरुको ध्यान ठूला नेतातिर ग’को, सक्नेले सकेसम्म बाँच्न खोज्छ र विदेश गएर उपचार गराउँछ नेताहरु मात्रै होइन अरु पनि । तेश्रो प्रश्नको सिधा उत्तर दिए ओलीले । तर, अरु प्रश्नको उत्तरमा जस्तै यसमा पनि दंम्भ मिसिएको थियो । कुनै समय ठूलो पार्टी रहेको नेपाली कांग्रेसमा देखिएको दम्भजस्तै ।

ओलीको स्थानमा अरु नेताले यस्तो प्रतिक्रिया दिएका भए काइते नेता, लुइरे नेता, यस्ता पनि नेता ? प्रश्न एकातिर, उत्तर अर्कोतिर, के भनेको भनेर प्रश्न बुझ्नेसम्म क्षमता नभएका नेताबाट के धेरै कुराको अपेक्षा गर्नु ….जस्ता क्रियाप्रतिक्रियाहरु आउथे होलान् । तर, के ओलीले नबुझेका थिए र ? होइन भने किन असान्र्दभिक बाङ्गो उत्तर ?

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा एमालेको अग्रता अघि बढिरहेको थियो । बाम गठबन्धनले दुई तिहाई सिट ल्याउन ल्याउन लाग्यो है भन्ने हर्सोल्लास र चिन्ता दुवै थियो मानिसहरुमा । यो परिणामसँगै यसअघि संसदमा सबै भन्दा ठूलो दल रहेको नेपाली काग्रेसको पत्तासाप भइरहेको थियो ।

कांग्रेसले कहिल्यै पनि सिद्धान्तको फाइदा बुझाउन सकेन । न त संगठन सुदृढीकरणमा चासो नै देखायो । २००७ सालदेखि प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षको ब्याज मात्रै खाँदै आयो । सौन्र्दय साधनको विज्ञापनमा सुन्दर कलाकारले सान प्रयोग गर्नुअघि नै म राम्री थिएँ भनेजस्तो म पहिलो हुँ भन्ने अहम मात्रै पाल्यो कांग्रेसले । पहिलोमा नै चित्त बुझायो र त्यसैमा गर्जन पनि ग¥यो । त्यसैले कांग्रेसको सैद्धान्तिक विचारधारामा व्यवहारिक समर्थन बढ्नुको सट्टा खुम्चदै गयो ।

‘फलाना रुख हो, त्यसैले नातिमा पनि रुखैको रगत बगेको छ’भन्ने पुरातन विश्लेषण र आँकलन भन्दा पर तार्किक र वस्तुपरक ढंगमा कांग्रेसीजनले कहिल्यै पनि सोचेनन् । ‘हिङ नभए पनि हिङ बाँधेको टालो पो त’ भन्ने फुर्तीमा नै कायम राख्यो कांग्रेसले आफूलाई । त्यसैले कार्यकर्ता बढ्न सकेनन् भएकाले पनि इमान्दारिता त्यागे ।

सर्पले काँचुली छोडेजस्तै छोडिएको कांग्रेसी कार्यकर्ताको इमान्दारिता र सिद्धान्तप्रतिको उत्तरदायित्व बोध कम हुँदै गएका बेला बनेको बामगठबन्धनको प्रहार गज्जब बन्यो । कांग्रेस यति साह्रै कमजोर देखिँदैथ्यो यदि बाम गठबन्धन नबनेको भए ।

परिस्थिति र परिवेश वर्तमानकै हो । तर, यो मात्रै कारण भने थिएन । अवश्य होइन । पुनस्थापित प्रतिनिधिसभामा एमालेलाई स्पेस कम दिन माओवादीलाई बराबर सिट भाग दिँदा कांग्रेसले विषवृक्ष रोपेको थियो । अहिलेको बामगठबन्धन त्यही वृक्षमा लागेको फल मात्रै हो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन ०७४ बैशाख ३१ गते को अघिल्लो दिन ३० गते पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी ओलीले सत्तारुढ दल नेपाली कांग्रेसलाई चेतावनी मात्रै दिएनन् चुनावी परिणामको आँकलन सहित पटाक्षेप गरे । पत्रकार सम्मेलनमा ओलीले नेपाली कांग्रेसलाई भनेका थिए “भोलिको (बैशाख ३१ गते) चुनावी परिणामपछि अलिकति झोक्राउनुहुन्छ, मंसिरसम्म पुग्दाखेरि ओछ्यान लाएर सुत्नुहुन्छ । ”

ओलीको भनाइजस्तै आज कांग्रेस ओछ्यान लगाएर सुतेको छ वा उठ्न नसक्ने गरेर पछारिएको छ ? पत्रकारलाई ओलीको मुखबाट जवाफ चाहिएको थियो । अर्थात् जनता जान्न चाहन्थे !

स्थानीय तहको नतिजा पाएपछि फेरि पनि ओलीले कंग्रेसप्रति कटाक्ष गर्न छाडेनन् । तर, अहिले एकाएक प्रतिक्रियाविहीन ? ओलीको भित्री ध्येय के थियो ? बुझ्न सकिएन ।

प्रदेशसभा र प्रतिनिधि सभाका निर्वाचनमा मुलुकभरबाट आएका पछिल्ला परिणाम र त्यसले गरेको आगामी दिनको राजनीतिक समीकरणका बारेमा प्रतिक्रिया मागेका पत्रकारलाई ओलीले व्यंग्य गरे ।

पत्रकारिताका विज्ञ, बुज्रुकहरुले उनको प्रतिक्रियालाई कसरी लिए÷ लिन्छन् थाहा भएन । तर एउटा पत्रकारका लागि यो प्रतिक्रिया सामान्य अवश्य थिएन । पत्रकारलाई यति साह्रै व्यङग्य ओलीले यस अघि सायदै गरेका थिए । हाँसीहाँसी बोल्दैमा वार्तालाप गरेको पक्षलाई सम्मान गरेको वा उसको अस्तित्व स्वीकारेको पक्कै मान्न सकिन्न । पत्रकारको जिज्ञासा एकातिर उत्तर अर्कोतिर दिँदा जिम्मेवार व्यक्तिले अलिकति असजिलो मान्नुपर्ने होइन र ?

यहाँ उठाउन खोजिएको सवाल यो हो कि विहानीले दिनको संकेत गर्छ । अध्यक्ष ओलीको यो व्यङग्यलाई गलत तरिका भएको अथ्र्याउन थालिसकेका छन् पत्रकारहरुले ।

समाचार दिने सवालमा, पत्रकारका जिज्ञासा समाधान गर्ने सवालदेखि उनीहरुप्रतिको व्यवहार सबै भन्दा राम्रो एमाले र एमाले नेतृत्व तथा तिनका नेताले गर्छन् भन्नेमा सायदै विमति होला । संगठन सुदृढीकरण र सामाजिक सम्बन्ध मजबुद बनाउन पोख्त रहदै आएको एमालेमा विजयको उन्माद छचल्किएर नपोखियोस् भन्ने मात्रै कामना हो ।

२०७४ मंसिर २७ गते ९:५७ मा प्रकाशित

 

photo

NOC1-250x300