कांग्रेसमा अहंकारको हार

  गोविन्द अधिकारी २०७४ मङ्सिर २५ सोमबार

महाभारतको एउटा उपकथामा बर्बरिक बधको प्रसंग छ । कहिल्यै नहार्ने तर जो कमजोर हुन्छ उसैका पक्षमा लड्ने वर पाएका घटोत्कच पुत्र बर्बरिकलाई कृष्णले युद्धमा सामेल हुनै नदिई छल गरेर मारे । मर्न तयार भएपछि र्बबरिकको आग्रहमा उनलाई महाभारत युद्ध हेर्नसक्ने वर कृष्णले दिए । युद्ध सकिएपछि सोध्दा बर्बरिकले भने – लडाइँमा कृष्ण र कृष्णा (द्रौपदी) मात्र देखेँ । कृष्णले संहार गर्दैथिए भने कृष्णाले अँजुलीमा रगत भरेर पिउँदै थिइन् । अर्थात्, अठार अक्षौहिणी सेना र पाण्डव, कौरव तथा महावीरहरू सबै निमित्तमात्र थिए । नेपाली कांग्रेसको चुनावी हारमा पनि धेरै कारण होलान् तर नेताहरूको अहंकार मूल कारण रहेको स्पष्टै देखिन्छ । 
चुनाव लामो भयो ।

गत वर्षको चैतदेखि सुरु भएको चुनाव चर्चा पुस लाग्ने बेलासम्म पनि चलिरहेको छ । जित्नेहरू खुसी हुनु स्वाभाविकै हो । हार्नेले दुःख मान्नु पनि अस्वाभाविक हैन । नेपाली कांग्रेसले चुनाव हार्ने अनुमान त लगभग सबैले गरेका थिए तर नेकपा (माओवादी केन्द्र) भन्दा पनि यति धेरै तल झर्ला भन्ने चाहिँ बिरलैले ठानेका थिए । यद्यपि, एउटै कम्युनिस्ट पार्टी बनाउने नेकपा (एमाले) र माओवादी केन्द्रको निर्णयपछि दुवै पार्टीका मत एकै ठाउँमा गएमा अधिकांश स्थानमा कम्युनिस्ट गठबन्धनका उमेदवार धेरै स्थानमा जित्ने सम्भावना देखिएको थियो ।

तर, तटस्थ मतदाताले पनि कांग्रेसलाई रुचाएको देखिएन । यसमा कम्युनिस्टहरूको रणनीतिक सफलता त हो नै कांग्रेसको नीति र रणनीतिमा रहेको कमजोरी पनि उत्तिकै जिम्मेवार छ । कांग्रेसका परम्परागत मतदाताले भने अझै पनि साथ छाडेको देखिएन । समानुपातिकमा कांग्रेसले ३० प्रतिशतको हाराहारीमा मत ल्याउने प्रारम्भिक परिणामले देखाएको छ । यसैले कांग्रेसको यो हारलाई रणनीतिक हारमात्र भने पनि हुन्छ । कांग्रेसका जिम्मेवार नेताहरू सायद त्यसै भनेर दोषबाट उम्कन खोज्छन् पनि होला । 

कांग्रेस कहाँ चुक्यो भन्ने विषयमा धेरै अक्षर खेर फालिएको छ । नीतिका आधारमा नेपाली कांग्रेसले २०४८ सालदेखि नै गलत बाटो रोजेको थियो । तर, रणनीतिक चातुर्य र केही हदसम्म जुझारु प्रवृत्तिले कांग्रेस २०६३ सालसम्म नेपालको राजनीतिको केन्द्रमा स्थापित भइरह्यो । नीतिगत त्रुटिको पाटोलाई अहिले छाडौँ । रणनीतिकरूपमा कांग्रेस हुस्सु साबित हुँदैगयो । पछिल्लो सबैभन्दा ठूलो रणनीतिक गल्ती सायद माओवादी केन्द्रलाई बोक्नु हो । सत्ताको लोभमा कांग्रेसले गरेको यही गल्तीले यसपटक कांग्रेसलाई नराम्ररी थेचार्‍यो । 

यी सबैभन्दा पनि कांग्रेसका केही नेतामा रहेको ’म नै कांग्रेस’ भन्ने अहंकारले पार्टीलाई नराम्ररी पछारेको हो । स्वीकार सायद यीमध्ये कसैले गरोइनन् । हुनत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति चुनेकै दिन पार्टीको अधोगति सुरु भएको हो । त्यसपछि झन् देउवाले पार्टीलाई प्रालि बनाए ।

देउवाले २०५९ सालमा फुटाएपछि नेपाली कांग्रेस कहिल्यै एउटा पार्टी हुनसकेन । उनले पार्टी फुटाउनु अपराध थिएन । तर, पार्टी फुटाएको कारण भने अक्षम्य अपराध थियो । संकटकालले नेपाली जनतालाई सास्तीमात्र थपेको तर माओवादी विद्रोह कमजोर नभएको निष्कर्षपछि पार्टीले देउवालाई संकटकाल नलम्याउन निर्देशन दिएको थियो । राजाको उक्साहटमा उनले त्यही बहानामा संसद् भंग गराए र अन्ततः पार्टी नै फुटाइदिए । 

स्थानीय निकायको चुनावमै जनताले कांग्रेसलाई संकेत दिएका हुन् । जनताको सन्देश बुझेर कांग्रेसले आफूलाई सुधार गर्नुपथ्र्यो । उल्टै, जनतालाई झन् चिड्याउने काम गरी रह्यो । उमेदवार छान्ने बेलामा गुटका कृपापात्र हुनु अनिवार्य भयो । तलका कार्यकर्ताले उमेदवार छान्न पाएनन् । पार्टीको घोषणापत्रमा सामान्य कार्यकर्ताको भावना समेटिने त संयन्त्र र अभ्यासै छैन । त्यतिमात्र हैन रातारात विनोद चौधरीहरू कांग्रेसका ’स्टार क्याम्पेनर’ बनाइए । निम्न र निम्नमध्यम वर्गका किसानको समर्थनमा टिकेको पार्टीले अर्बपतिलाई आर्थिक अनुहारका रूपमा प्रस्तुत गरेपछि कांग्रेस कांग्रेसहरूकै लागि बिरानो भयो । परम्परागत समर्थकले मत त दिए तर बढो अनिच्छापूर्वक !

कांग्रेसका केही नेताको अहंकारले पनि सामान्य कार्यकर्ताको उत्साह र जाँगर मर्‍यो । झापामा कृष्णप्रसाद सिटौलाको चुनाव नलडी नछाड्ने जिद्दीको मूल्य विश्वप्रकाश शर्मालेलगायतले समेत चुकाउनु पर्‍यो । देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग सहकार्य गरेको प्रचार गरियो । प्रतिगमनका पक्षधर भनिएको राप्रपालाई मेचीका कम्युनिस्टहरूले बोके । यता, कमल थापा हार्नेबित्तिकै उनका प्रवक्ताले कांग्रेसको साथ लिएकाले राप्रपा हारेको भन्न थालेका छन् । कांग्रेसले कम्युनिस्ट गठबन्धनको प्रतिक्रियामा बनाउन खोजेको लोकतान्त्रिक गठबन्धन नबन्दै भत्कियो ।

यस्तै विमलेन्द्र निधि र अमरेशकुमार सिंहको जिद्दीले मधेसी दलहरूसँग सहकार्य हुनसकेन । कि त कतै पनि कसैलाई नछाडीकन चुनाव लडेको भए हुन्थ्यो । महन्थ ठाकुर र उपेन्द्र यादवलाई छाड्ने अरूलाई नछाड्ने गर्दा अब कांग्रेसका कोही पनि भरपर्दा मित्र रहेनन् । राप्रपालाई बोकेर त कांग्रेसलाई कुनै राजनीतिक लाभ हुने थिएन । ( स्वाभाविक मित्र एमालेले राप्रपालाई गुन लगायो र पार्टी पनि सायद जोगाई दियो ।) 

त्यसैगरी आफूलाई नै पार्टी ठान्ने अर्का नेता रामचन्द्र पौडेलको जिद्दीले तनहुँजस्तो गत स्थानीय तहको निर्वाचनसम्म पनि जित्दै आएको जिल्लालाई कम्युनिस्ट किल्ला बनाइदियो । शंकर भण्डारीले कुन अपराध गरेका थिए र उनलाई अर्को निर्वाचन क्षेत्रमा सार्नु परेको हो ? पौडेलले नै सधैँ रोज्ने सुविधा किन पाउनु पर्ने ? भण्डारी तनहुँ — १ मा पौडेलभन्दा धेरै लोकप्रिय थिए । तर, पौडेलको जिद्दीका सामु अरूको केही लागेन । जनतालाई सायद यस्तो अहंकार मन परेन । गोविन्दराज जोशीसँग गरिएको व्यवहारलाई पनि १ नंबर क्षेत्रका जनताले मन पराएनन् । रामचन्द्र पौडेलसँगको रिसको झोंकमा गोविन्द भट्टराई र रघुनाथ पौडेलमात्र हैन प्रदीप पौडेल र ध्रुव वाग्ले पनि परे ।  

यसैले यसपटकको हार कांग्रेसका नेतालाई जनताले अहंकारको सजाय दिएका हुन् । यस हारले कांग्रेसका नेताहरूको अहंकार मेटियो भने सायद पार्टीमा सुधारको बाटो खुल्नेछ । तर, अब सुधारमात्रले कांग्रेसलाई नेपालको राजनीतिको केन्द्रमा पुनःस्थापित गर्न सक्तैन । यसको विनिर्माण आवश्यक छ । कांग्रेस अहिले न हाँसको न कौवाको चालमा छ । 

मध्यावधि निर्वाचनमा हारेपछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुन मानेनन् । शेरबहादुर देउवा त्यही कारणले २०५१ सालमा नेपाली कांग्रेस संसदीय दलको नेता चुनिए र २०५२ मा प्रधानमन्त्री हुन पाए । अब उनले अरूका लागि बाटो खोल्नु उचित र आवश्यक हुन्छ । तर, देउवाले नेतृत्व छाड्लान् भनेर पत्याउन भने मुस्किलै छ ।

यतिले पनि पुग्दैन । कांग्रेस बचाउन यसको विधानदेखि नीति र रणनीति सबैमा २०१५ सालतिर फर्कनुपर्छ । के कांग्रेसका तरुणहरूमा दाइहरूलाई पन्छाएर अगाडि बढ्ने आँट छ ? छैन भने, कांग्रेस ओरालो लागेको मृग भएको छ र अब बाच्छाले पनि खेद्नेछ ।

बाह्खरीबाट साभार

NOC1ads