काँग्रेसले किन बेहोर्‍यो शर्मनाक पराजय

माधव दाहालMadhav-Dahal-150x150

यसपटकको चुनावमा नेपाली काँग्रेसले शर्मनाक पराजय बेहोर्‍यो । काँग्रस यस्तो दयनीय हविगतमा पुग्नुका पछाडि अनगिन्ती कारणहरु विद्यमान रहेका छन् । यति सानो लेखमा ती सबै कारणहरुको समग्ररुपमा ब्याख्या गर्न त्यति सहज हुने छैन । तर, उक्त पार्टीको लज्जास्पद पराजयका निम्ति उसका आन्तरिक कारणहरु नै प्रमुख रुपमा जिम्मेवार थिए भन्नेमा चाँहि कुनै शंका छैन । तिनीहरुलाई एकपटक केलाउने प्रयास गरौं ।

आत्मकेन्द्रित राजनैतिक चरित्र
वस्तुतः नेपाली काँग्रेसको राजनैतिक चरित्र आत्मकेन्द्रित प्रकृतिको देखिन्छ । काँग्रेस आफुलाई मात्र लोकतन्त्रको पर्याय भन्छ अनि काँग्रेसइतरका मानिसहरुलाई सधैं गैरलोकतान्त्रिक देख्छ । प्रजातन्त्र पद्धती हो र काँग्रेस एउटा पार्टी हो भन्ने कुरा काँग्रेसले हेक्का राखेको देखिंदैन । ऊबाहेक अरु लोकतान्त्रिक हैन भन्ने भ्रममा काँग्रेस बाँचेको छ र जनतालाई त्यहि प्रकारको सन्देश प्रवाह गर्न खोज्छ । जनता यो कुरा पत्याउँदैनन् । तर, पनि काँग्रस त्यहि कुरा बारम्बार भनी रहन्छ । काँग्रेसीजनको आँखामा सबै गैरकाँग्रसीहरु अलोकतान्त्रिक हुन्छन् । यो धर्तीमा भएका तमाम राजनैतिक पार्टीहरु मध्ये आफु मात्र एक्लो लोकतन्त्रिक पार्टी भएको देख्ने काँग्रेसले आफ्नो दिवास्वप्नका कारण आफ्नै धोती खुस्केको समेत चाल पाउँदैन । काँग्रेसको यहि आत्ककेन्द्रित चरित्र अहिलेको उसको शर्मनाक पराजयको लागि एकहदसम्म जिम्मेवार देखियो ।

कुम्भकर्ण र अधिनायकवाद
काँग्रेस आफ्ना योजनाहरु नागरिक समक्ष पुर्‍याउँदैन । बरु भन्छ- कम्युनिष्ट भनेका अधिनायकवादीहरु हुन् । अधिनायकवाद भनेकै केहो थाहा नपाउने आम नेपाली दाजुभाइलाई अधिनायकवादको बारेमा काँग्रेस एकोहोरो राजनैतिक प्रशिक्षण दिन थाल्छ । यिनीहरुले जिते भने नागरिकहरुले हाँस्न, बोल्न र रुन समेत पाउँदैनन् भनेर लाजको सीमा नाँघेर अरुको खोइरो खन्न थाल्छ काँग्रेस ।

यसो भन्नु राजनैतिक चरित्र हो कि हैन भन्ने भेउ समेत काँग्रेसले लगाउन सक्तैन । नागरिकहरु उसको अधिनायकवादको व्याख्या पत्याउदैनन् तर पनि काँग्रेस नागरिकहरुले पत्याएका छन् कि छैनन् भन्ने कुराको हेक्का राख्दैन । आफुले बोलेको कुरा नागरिकहरुले विश्वास नगरेको कुरा एकोहोरो भनिरहन समेत काँग्रेसलाई लाज लाग्दैन ।

काँग्रेसले बहुमत पायो भने मुलुकको विकास यसरी गर्नेछ भन्ने कुराको खाका ऊ नागरिकलाई देखाउन सक्तैन, नागरिकलाई सम्भावनाको सपना देखाउन सक्तैन र जसले देखाउने चेष्ठा गर्छ उसैलाई गलत प्रमाणित गर्न उद्दत रहन्छ र यसैका लागि आफ्नो समय बर्बाद गरिरहन्छ ।

जसले सपना देख्ने साहस गर्छ उसलाई फटाहा र आफु सपना नदेखेकै कारण आफुहरु सज्जन भएको हो भनेर काँग्रेस कुतर्क गर्छ । सपना देख्नेहरु कसरी फटाहा हुन् भन्ने कुराको प्रमाण कहिल्यै पेश गर्दैन काँग्रेस । तर सपना देखाउनेलाई सिल्ली बनाउने प्रपञ्च गरिराख्छ ।

काँग्रेसको यस्तो तथ्यहिन र एकोहोरो तर्कसँग आम नागरिकहरु सहमत हुन सक्तैनन् र बरु सपना देखाउनेले नै केहि गरी पो हाल्छन् कि भनेर उनीहरुकै पछि दौडन थाल्छन् । नागरिकमा योजना नबनाउने भन्दा योजना बनाउनेहरु प्रति विश्वास पलाउन जान्छ र उनीहरु कुम्भकर्ण स्वरुपको काँग्रेसलाई पिठ फर्काउन बाध्य हुन्छन् ।

‘मासबेस्ड’ पार्टीः काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर
काँग्रेस आफुलाई ‘मासबेस्ड’ पार्टी भन्छ तर ‘मास’ले के अपेक्षा गर्छ भन्ने कुराको अनुसन्धान गर्दैन । आम नागरिकहरु मुलुकमा स्थिरता, विकास र अमैनचैनको अपेक्षा गर्छन् तर काँग्रेसी भने चुनावलाई लक्षित गर्दै संविधान संशोधनको राप अलाप्न थाल्छ । काँग्रेसले जुन कुरामा समय खर्चियो त्यो अमुर्त थियो । नागरिहहरुले काँग्रसको अमुर्त संविधान संशोधनभित्र कुनै मुर्त कुरा फेला पार्न सकेनन् । यसपटकको चुनावमा काँग्रेस एजेन्डाविहिन नै होमियो । यसकारण उसले आफ्ना पछि लाग्छन् भनेको मास उसको पछि लागेन । मासले आफु जाने बाटो नै पहिल्याएन । काँग्रेस नेतृत्व अन्धोजस्तै बन्यो । अनि अन्धाको पछि आँखा हुनेहरु नलागे जस्तै भयो यस पटकको चुनाव काँग्रेसका लागि ।

देउवाको ज्योतिषी र राजनीति
देउवाको नेतृत्वमाथि कुरै गर्न परेन । देउवाप्रति नागरिकहरुको भरोसा छैन भन्ने कुरा या त काँग्रेसले थाहा पाएन या त थाहा पाएर पनि बुझ पचायो । देउवाले आफुलाई सत्ताकेन्द्रित व्यक्तिका रुपमा पहिचान दिलाएका छन् । नागरिकका आँखामा उनी त्यस्ता मान्छे हुन् जसले कुर्सीका लागि जे जस्तो हर्कत गर्न परे पनि पछि पर्दैनन् भन्ने कुरा कसैले बुझाई रहनु पर्दैन । देउवा स्वयं मेरो सात सात चोटि प्रधानमन्त्री बन्ने योग परेको छ भन्दै लाज पचाउँदै कुनै अमुक ज्योतिषको हवाला दिन पुग्छन् । उनका व्यवहार र प्रस्तुती नेता भन्न सुहाउने जस्तो देखिएन । एउटा मुलुक हाँक्न पर्ने मान्छे यस्तो हावादारी, बकम्फुसे, योजनाविहिन र सत्तामुखी छ भने यसपटक काँग्रेसलाई जिताउनु भनेको देउवालाई कुर्सीमा थुपारिदिनु मात्रै हो भन्ने आम नागरिकहरुले निर्क्यौल गर्न पुगे जसको नकारात्मक असर देउवामाथि भन्दा पनि नेपाली काँग्रेस माथि पर्‍यो । समयले यहि प्रमाणित गर्‍यो ।

कुनै पनि काँग्रेसीले देउवाले सत्ताका लागि काढेको र्‍याललाई करेक्सन गरेनन् अनि देउवाको उम्मेद्वारी देश र जनताका लागि हो है भनेर आम नागरिकलाई कन्भिन्स गर्ने साहस नै गर्न सकेनन् । नागरिकहरुले हामीहरुलाई तलबाट हेरिराखेका छन् भन्ने कुरा काँग्रेसले बिर्स्यो । यसरी श्रीमान् देउवा, श्रीमती देउवा, छोरो देउवा र सासुआमा मैसापका लागि मुलुकको चाबी बुझाउन नागरिकहरु तयार हुँदैनन् है भन्ने कुरा काँग्रेसले बुझेन वा बुझेर पनि बुझपचायो र वर्तमानको यो हविगतमा आईपुग्यो ।

पटक-पटक राज्य सञ्चालन गर्ने अवसर पाएको काँग्रेसको वर्तमान नेतृत्व नेपाली उखान ‘बुढो गोरुले गाई ओगटे भने जस्तो’ देखियो । काँग्रेसमा काम गर्न नसक्ने तर पद चाहि ओगटिराख्ने प्रवृत्ति हावी भए । नयाँ पुस्ताले अपेक्षाकृत कम अवसरहरु पाए । बुढो गोरुले बहर साँढेलाई स्थान दिएन । नागरिकहरुले त्यसबाट नयाँ सम्भावना र प्रगतिको जायजन्म हुन्छ भन्ने कुरा पत्याएनन् ।

इतिहासको बिक्री
काँग्रेस इतिहासको विद्यार्थी हो । उसले घोकेको छ कि उसको पार्टीले विगतदेखि वर्तमानसम्म भएका सबै प्रगतिहरुको नेतृत्व गरेको छ । काँग्रेस भन्छ ऊ नभएको भए परिवर्तन आउँदैन थियो भन्छ । २००७ सालदेखि २०६२/६३ सम्म भएका सबै आन्दोलनको आफैले नेतृत्व गरेको, आफैले संबिधान बनाएको तर अरु पार्टीका मानिसले चाँहि उसले आर्जेको पुरुषार्थमा सहभागी भएको भन्ने भ्रम पालेर बाँच्छ ।

आजसम्म मुलुकले जे जति परिjर्तन पायो त्यो सबै काँग्रेसले गर्दा सम्भव भएको हो भनेर भन्छ तर मुलुकको jर्तमान अधोगतlको कारक चाँहि आफु हो भनेर स्वीकार गर्दैन । काँग्रेसको यो सुगा रटान नागरिकले पत्याउँदैनन् । परिवर्तनको हिस्सा अरुलाई दिन काँग्रेस कन्जुस्याँई गर्छ ।

नागरिकलाई त्यो कुरा ठिक हो जस्तो लाग्दैन । आफुले गरेको कुराले नागरिकहरु कत्तिको वाक्क दिक्क छन् भन्ने कुरा थाहा पाउने कोशिस काँग्रेस कहिल्यै गर्दैन । इतिहासलाई तोडमोड गरेर आफु नायक र अरु खलनायक प्रमाणित गर्न उद्यत रहन्छ काँग्रेस । यो कुरा आम नागरिकहरु पत्याउँदैनन् र काँग्रेसलाई भोट दिन लालायित हुँदैनन् ।

पद्धतिविहिन झुण्ड
काँग्रस पद्धतिविहिन पार्टी भएको छ । बिधानमा लेखिएअनुसार पार्टी कहिल्यै चल्दैन । कति बर्षमा अबिधेशन हुनुपर्ने हो, कति समयमा पदाधिकारी चयन भैसक्नु पर्ने हो, कार्यसमितिको बैठक कति समयमा बस्नु पर्ने हो जस्ता कुरा काँग्रेसले पालना गर्दैन । पार्टीको आन्तरिक जीवनमा अप्रजातान्त्रिक चरित्र देखाउने काँग्रसले बिधि र प्रक्रियाका आधारमा नेतृत्व छनौट गर्दैन । काँग्रस आजसम्म पनि रगतका नाताका आधारमा, खानदानका आधारमा, बाबुबाजेले गरेको योगदानका बारेमा नेतृत्व तयार पार्छ । हाम्रो यो गतिविधि नागरिकहरुले बाहिर बसेर हेरिरहेका छन् है भन्ने कुरा काँग्रेस बिर्सन्छ र उही बिपी, गणेशमान र महेन्द्रनारायणनिधीको विरासत हो भन्दै पैत्रिक सम्पत्तिमा सन्तानमा हस्तान्तरण गरे जस्तै उनीहरुका सन्ततिलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न पुग्छ ।
उनीहरुको यस्तो हर्कत आम नागरिकहरुलाई कुरी कुरी लाग्छ । काँग्रेस यो चक्रब्युहबाट माथि उठ्न सक्तैन । बरु यसको बिकल्पमा जयबिर देउवालाई तयार पार्छ । आफ्ना यस्तै यस्तै अलोकतान्त्रिक व्यवहार, व्यक्तिवादी चरित्र र पारिवारिक विरासतको कुण्ठाबाट काँग्रेस बाहिर आउन सक्तैन । नागरिकहरु त्यो चाँहदैनन् । एउटै व्यक्ति र उसका परिवारलाई पुस्तौं पुस्तासम्म नागरिकहरुले लिएका हुदैनन् । काँग्रेस आम नागरिकको यो मनोविज्ञानसँग अनभिज्ञ रहन्छ ।

प्रधानमन्त्रीको ताँती
नेपाली काँग्रेसमा प्रधानमन्त्री बन्न योग्य धेरै रहेछन् । तर प्रधानमन्त्रीका प्रवल दाबेदार देउवा सत्तामा गए भने यस्तो परिवर्तन होला भनेर नागरिकहरुले कुनै सपना देख्न सक्दैनन् । देउवाको धमिलो चरित्र नागरिकलाई आकर्षण गर्ने कारक बन्न सक्तैन । देउवाका विकल्प भनिएका रामचन्द्र पौडेललाई मर्नुभन्दा पहिला एकपटक प्रधानमन्त्री बन्न पाए पुग्छ भन्ने छाप नागरिकमा व्याप्त छ । उनी त्यसैका लागि मरिहत्ते गरिरहेका छन् भनेर आम सर्वसाधारण नागरिकले अनुमान लगाएकै हुन् । उनको उम्मेद्वारी उनकैलागि मात्र भयो काँग्रेसकालागि हुन सकेन ।

देउवा र पौडेलका अतिरिक्त रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, बिमलेन्द्रनिधीहरुले आफु नै भावी प्रधानमन्त्री हुँ भन्दै भोट मागे । उनीहरु किन प्रधानमन्त्री हुने ? देशलाई उनीहरु नहुँदा के घाटा हुन्छ भनेर प्रमाणित गर्न सकेनन् । यसपटकको चुनाव मियो बिनाको दाई कै शैलीमा कार्यान्व्यन गरायो काँग्रेसले । मियो बलियो भएको भए जतिवटा गोरु जतातिर तनारिएमा पनि केहि हुने थिएन । यसपटक मक्किएको मियो गाढेर अनि बज्रस्वाँठ गोरुहरुलाई लिएर दाई गर्ने प्रपञ्च रच्यो काँग्रेसले । नागरिकहरु त्यसमा हाँसे ।

मधेशको सेन्टिमेन्ट
मधेशको सेन्टिमेन्ट क्यास गर्न काँग्रेसले संबिधान संशोधनको कुरा गर्‍यो । तर संबिधानमा भएका यी प्रावधानहरु विभेदकारी छन् र तिनीहरुलाई संशोधन गर्ने हो भनेर कार्य योजना देखाएन । कार्ययोजनाविहिन काँग्रेसलाई मधेशले पत्याएन । संविधान कहाँ कहाँ संशोधन गर्ने भनेर स्वयम् काँग्रसलाई नै थाहा नभकाले उसले संविधान संशोधनका लागि लिएका अडान नै रमिते जस्ता बने । संबिधान सम्बर्द्धन यसकारणले भन्ने तर्क काँग्रेससँग थिएन ।

निराशाको भकारी
काँग्रेसले नागरिकलाई आशाबादी बनाउने, समृद्धिको सूचना प्रवाह गराउने कुनै योजना नै तय गर्न सकेन । केपी ओलीले देखेको सपनालाई हावा भनेर उँडायो । ओलीले देखाएका सपना यी यी कारणले गर्दा कार्यान्वयन हुन सक्तैनन् भनेर नागरिकलाई भन्ने चेष्ठा गरेन । बरु अरुलाई गलत प्रमाणित गर्दा आफू सद्दे भईन्छ भन्ने भ्रम पालेर बस्यो । विकासका सपना नै नदेख्ने देउवाभन्दा सपना देख्ने ओलीलाई नागरिकहरुले पत्याए ।

भ्रष्टाचारीको रगजग
नेपाली काँग्रेसको राजनीतिमा खुमबहादुर, चिरञ्जिवी र गोविन्दराज जोशीजस्ता व्यक्तिहरु आज पर्यन्त निर्णायक भैरहे । नागरिकका आँखामा नराम्ररी गिरेका उनीहरुलाई काँग्रेसले महादेवले सतिदेवीको लासलाई बोकेर हिँडे जस्तै बोक्दै हिड्यो । उनीहरुबाट फैलिएको दुगन्ध काँग्रेसले चाल पाएन । काँग्रेसलाई चर्पी गन्हाउँछ भन्ने कुराको हेक्का नै भएन । चर्पी गन्हाउँदो रहेछ भन्ने कुरा काँग्रेसले चुनावपछि मात्र थाहा पायो ।

समाजवाद : अपरिवर्तनीय थारो गाई
काँग्रेसले बिपीको समाजवादलाई दुहुनो गाईजस्तै बनायो । गाई बकेर्नु भएको काँग्रेसले थाहा पाएन । बिपीको समाजवादको सान्दर्भिकता, यसको वैज्ञानिक प्रयोग, समयानुकुल परिमाजर्न जस्ता कुरा काँग्रेसले कहिल्यै गरेन । करिब ६ दशकदेखि एउटै मन्त्र जप्यो त्यसभित्र समयानुकुल परिवर्तन गर्दा आफु काँग्रेसी नै नहुने जस्तो भ्रममा काँग्रेस बाँच्यो । सिद्धान्त जे भए पनि हामी नै काँग्रेस अनि हामी नै प्रजातान्त्रिक भन्ने सोचमा काँग्रेस रमायो । यसले नागरिकलाई काँग्रेसप्रति नयाँ आशाको रक्तसञ्चार नै गर्न सकेन ।

बिर्सिएको स्वाभिमान
हरेक मान्छे आत्म स्वाभिमान खोज्छ भन्ने कुरा काँग्रेसले बिर्सियो । भारतको आशिर्वाद खोज्यो, मधेशको सेन्टिमेन्ट क्यास गर्न खोज्यो, अरुलाई गलत प्रमाणित गर्न खोज्यो तर आफ्नो कुनै कार्य योजना नागरिक सामु राखेर विकासको लागि आफ्ना प्रतिवद्धता देखाउनै सकेन । कण्ठ हुने गरी अधिनायकवाद पढेर बस्यो । जनतालाई पनि यही बिषय पढ्नुपर्छ भनेर दिक्षित बनाउने तर्फ लाग्यो । यसरी समग्रमा काँग्रेसको यसपटकको हार उसका लागि अनपेक्षित भए पनि अरुका लागि अनपेक्षित हैन । अपेक्षित नै थियो ।

र अन्तमा,
जबसम्म काँग्रेस आफुलाई मात्र लोकतन्त्रको पर्याय ठान्छ, नयाँ पुस्तालाई राजनैतिक अवसर दिँदैन, खुमबहादुर मार्कालाई राजनैतिक बहिस्करण गर्दैन, अरुलाई खराब प्रमाणित गरेर आफु असल बन्ने र आफ्नो आङको भैसी नदेख्ने चरित्रबाट आफुलाई सुधार गर्दैन, तबसम्म काँग्रेस यही र यस्तै हविगतबाट गुज्रने छ ।

copied from sajha post

 

photo

NOC1-250x300