एर्दोआनको पाखण्डी अधिनायकवाद 

निना एल ख्रुस्चेवा

 भदौ १ ५

एर्दोआनको पाखण्डी अधिनायकवाद 

संसारभरका अधिनायकहरू किन षड्यन्त्रको सिद्धान्त र पाखण्डका यति उग्र समर्थक हुन्छन् ? पक्कै पनि अधिनायकहरू प्रायः आफैँ सन्काहा हुन्छन् तर यत्तिकै भरमा पाखण्डी पनि हुनुपर्छ भन्ने त थिएन । वास्तवमा, के पाखण्ड अधिनायकवादी शासनको अपरिहार्य विशेषता नै हो त भन्ने प्रश्न सोध्नु उचित हुन्छ ।

यसको पछिल्लो प्रमाण टर्कीको वर्तमान आर्थिक संकटमा पाउन सकिन्छ । टर्की ऋणमा डुबेको छ र यसको मुद्रा लिरा खस्किँदै गएको छ । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोआन ब्याजदर बढायो भने मुद्रास्फीति बढ्छ भन्ने ठान्छन् । त्यसैले त्यहाँको केन्द्रीय बैंकलाई ब्याजदर बढाएर मुद्रा जोगाउन दिइएको छैन ।

अर्थशास्त्रले एर्दोआनको धारणाभन्दा फरक मत राख्छ तर उनी अरूका कुरा सुन्न तयार छैनन् । बरु, केन्द्रीय बैंकलाई आफ्नो अनौठो मौद्रिक नीति लागु गर्न बाध्य बनाउन एर्दोआनले उनका अयोग्य ज्वाइँ बेरत अलबायरकलाई अर्थ तथा कोष मन्त्री नियुक्त गरेका छन् ।

सोभियत संघमा हुर्केकी हुनाले म दुराग्रही वैज्ञानिक सिद्धान्तको समाजमा पर्ने प्रभावप्रति बढी नै संवेदनशील छु । जोसेफ स्टालिनले वंशसम्बन्धी आधारभूत सिद्धान्तको मेन्डेलिएन सिद्धान्तलाई मात्र हैन डार्विनको विकासवादको सिद्धान्तलाई समेत अस्वीकार गरेर सोभियत जीवशास्त्री ट्रोफिम लाइसेन्कोको वाहियात सिद्धान्तलाई मान्यता दिए । लाइसेन्कोका अनुसार मानवीय गुण वंशानुगत नभएर प्राप्त गर्ने वस्तु हो । स्टालिनको समर्थनमा लाइसेन्कोको नक्कली कृषि अनुसन्धानले सायद लाखौं जनसंख्याले भोकमरीको सामना गर्नुपरेको थियो । उनको सनकले गर्दा सोभियत जीवशास्त्र दुई दशक लामो अन्धकारमा अलमलियो । 

निकिता ख्रुस्चेवले त्यसलाई उल्ट्याउन सक्थे तर उनी पनि स्टालिनभन्दा कम सैद्धान्तिक पाखण्डका बन्दी थिएनन् । उनले लाइसेन्कोको सिद्धान्तलाई समर्थनमात्र गरेनन् बरु कम्युनिज्मका नियमहरूले प्रकृतिका नियममाथि विजय हासिल गर्छन् भन्ने मान्यता राख्ने इन्जिनियर र भूगर्भविद्हरूलाई अझ हौस्याए । उनीहरूले खु्रस्चेवलाई सोभियत परमाणु बमले ठूला नदीहरूको पानी आर्कटिक सागरमा मिसिएर खेर जान नदिई खेतीमा प्रयोग गर्न सकिन्छसम्म भनेका थिए । 

रुसको हिंसक सन्काहा अधिनायकवाद अपवाद भने थिएन । हिटलरले विक्षिप्त जातीय ‘विज्ञान’ अपनाउँदा संसार नै अन्धकारतर्फ उन्मुख भएको थियो भने ‘होलोकस्ट’ को महाविनाश त संसारले भोग्नु नै पर्‍यो । नाजी शासनमा पाखण्डी कुतर्क कति बढेको थियो भने जोसेफ मेङेलेको पापी मानव परीक्षणमा समेत अरू औषध विज्ञानको अनुसन्धानसरह वैज्ञानिक सम्मेलनहरूमा छलफल हुन्थ्यो । (नाजी सेनाले बन्दी बनाएपछि ग्यास च्याम्बरमा मार्नका लागि मान्छे छान्ने विधिलाई मेङेलेको परीक्षण भनिएको हो ।)   

मिथ्या विज्ञानप्रतिको सनक प्रेरित आकर्षणले अधिनायकहरू षड्यन्त्रको सिद्धान्तलाई समर्थन गर्छन् । बाह्य शक्तिहरू आफ्नो सरकार गिराउन लागेको भ्रम लामो समयदेखि पालेर बसेका एर्दोआन पनि अपवाद हैनन् । 

एर्दोआनका दृष्टिमा यस्ता दुष्ट शक्तिहरू वित्तीय बजारमा माध्यमाबाट क्रियाशील हुन्छन् । धन्न, अहिलेसम्म उनले बजारले ‘वल्र्ड ज्युअरी’को निर्देशनमा काम गर्छ चाहिँ भनिहालेका छैनन् । (कतिपय इस्लामवादी टर्किसहरू ‘वल्ड ज्युअरी’लाई सन् १९०८ को ‘योङ तुर्क’ आन्दोलन र पहिलो विश्वयुद्धपछि धर्मनिरपेक्ष गणतन्त्रका रचनाकार ठान्छन् ।) तर, उनका प्रमुख समर्थकहरू ब्याजदर बढी हुनुपर्छ भन्नेहरूलगायत आर्थिक कारणबाट एर्दोआनको आलोचना गर्नेहरूलाई खतराको घन्टी ठान्छन् ।

अहिले मिथ्या विज्ञान र कट्मेरो षड्यन्त्रको सिद्धान्तका अनुयायीका सम्भाव्य तानाशाहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अग्रपंक्तिमा अरू कोही छैनन् । ट्रम्पले राष्ट्रपति पदमा पुग्नका अश्वेत राष्ट्रपति बाराक ओबामा अमेरिकामा नजन्मेको हुनाले राष्ट्रपति हुन योग्य छैनन् भन्ने ‘जन्म’को भ्रम फैलाएर अमेरिकी राजनीतिमा नश्लवादी विष रोपेका थिए । 

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा प्रवेश गरेपछि उनको सनक झन् बढेको छ । ट्रम्पले खोप र एक प्रकारको बौद्धिक अपाङ्गता अटिज्मबीच सम्बन्ध हुनसक्ने विषयमा २० भन्दा बढीपटक त ट्विट नै गरेका छन् । बदनाम बेलायती डाक्टर र प्लेब्वाइ पत्रिकाकी एक पूर्व मोडलले पहिले फैलाएको यस भ्रमलाई वैज्ञानिक समुदायले स्पष्टसँग अस्वीकार गरिसकेको छ । 

वैज्ञानिकहरूबीच व्यापक सहमति भएको धारणाविपरीत ट्रम्प जलवायु परिवर्तन र मानवीय क्रियाकलापबीच कुनै सम्बन्ध छैन भन्छन् । असंख्य अर्थशास्त्रीहरूको विरोध भए पनि उनले व्यापार घाटा अमेरिकी अर्थतन्त्र कमजोर भएको लक्षण हो भन्ने ट्रम्पको विश्वास छ । जेम्स मेडिसन विश्वविद्यालयका धार्मिक विषयमा प्राध्यापक एलान लेविनोविजका अनुसार धामी झाँक्रीले युगौं पहिले जनतालाई भ्रममा पार्न धार्मिक बहानाहरू बनाएजस्तै ट्रम्पले पनि आफ्ना ट्विटहरूमा जोड दिने गर्छन् । 

ट्रम्पलाई कुन सही र गलतका बीच फरक थाहा छ कि छैन भन्ने पनि स्पष्ट छैन । उनी एफबीआई र सञ्चार माध्यम उनलाई राष्ट्रपति पदबाट हटाउन लागिपरेका छन् भन्ने दृढ विश्वास भएको देखिन्छ । यस अर्थमा ट्रम्पले इतिहासकार रिचर्ड होफस्टाडरले भनेजस्तो ‘सन्काहा शैली’लाई अमेरिकी राजनीतिको मूलधारमा प्रवेश गराउने कार्य गरेका छन् । यही सन्काहा शैली ट्रम्प र रुसका राष्ट्रपति भ्यादिमिर पुटिन दुवैमा साझा रहेको पाइन्छ । पुटिन रुसलाई महाशक्ति राष्ट्र बन्न नदिन संसारले षड्यन्त्र गरेको भ्रम पटकपटक दोहोर्‍याई रहन्छन् ।

टर्कीको संकटले स्पष्टसँग के देखाएको छ भने अत्यन्त गलत तर्कमा आधारित भ्रम पनि अन्ततः सत्यका सामु समानान्तररूपमा खडा हुन्छ । दिवंगत साहित्यकार वीएस नायपालले आफ्नो उपन्यास ‘ए बेन्ड इन द रिभर’को आरम्भमा लेखेजस्तो ‘‘संसार जस्तो छ त्यस्तै हो । कोही जो तुच्छ छन् वा आफूलाई तुच्छ ठान्छन् तिनलाई यसमा कुनै स्थान छैन । ’’ अधिनायकवादी शासकहरूका हकमा पनि त्यही भन्न सकिन्छ । टर्की, अमेरिका, भेनेजुयला वा अरू केही मुलुकमा अधिनायकहरूले जहाँबाट हेरे पनि विश्वको यथार्थलाई आत्मसात नगरे पनि विजय त अन्ततः सत्यकै हुन्छ । यसैले उनीहरूले सत्यको इन्कार गरेर त्यसको रक्षा गर्न सक्नेछैनन् । 

(द न्यु स्कुलमा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक)

 

photo

NOC1-250x300