आधा किलो सुनसहित दुई भारतीय पक्राउ

पश्चिमी सीमानाका कञ्चनपुरको गड्डाचौकीबाट आधा किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नम्बरको जिपमा सीमावर्ती भारतीय सहर बनबासातर्फ जाँदै गरेका दुई भारतीय नागरिक बुधबार बिहान आधा किलो सुनसहित पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले एचआर १२ एएफ ०००६ नम्बरको जीपमा सवार हरियाणाका ४५ वर्षिय सुरेशकुमार पाल र ३६ वर्षका जितेन्द्र सहनीलाई सुनसहित पक्राउ गरिएको पुष्टि गरेका छन् । 

उनले पक्राउ परेका भारतीय नागरिकहरुबाट ४ सय ९६ ग्राम सुन बरामद गरिएको र भन्सार कार्यालयले नियन्त्रणमा लिएको पनि बताए । ‘‘सुराकीले दिएको सूचनाका आधारमा भन्सारको टोलीले चोकजाँच गर्दा सुन बरामद भएको हो । अहिले उनीहरुलाई भन्सारले आफैसँग राखेको छ,’’ प्रहरी नायव निरीक्षक पन्तले भने । 

गड्डाचौकी भन्सार कार्यालय स्रोतका अनुसार उक्त जीप बैशाख ३१ गते चार दिनका लागि  भन्सार सुविधा काटेर नेपाल भित्रिएको थियो । भन्सार सुविधाको म्याद नसकिँदै उक्त जीप सुनसहित फर्किने क्रममा प्रहरीको फन्दामा परेको हो । उक्त जीप काठमाडौंबाट सुन लगेर कञ्चनपुर हुँदै भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । 

NOC1-250x300