अच्युत कोइरालाद्वारा अनुवादित चर्चित जेनकथा

आश्रमको नियम बडो कठोर थियो । पूर्णतः मौन पालना गर्नु जरुरी थियो । त्यहाँका प्रमुख गुरु मात्र बोल्न पाउँथे । उनी पनि लगभग नबोल्नेमै पर्थे । त्यहाँ एकजना शिष्यले वर्षमा एक पटक दुई वटा मात्र शब्द बोल्ने अनुमति पाउँथ्यो ।

1402315703jen

१० वर्षदेखि बसिरहेका एकसाधुलाई आचार्यले बोलाए र भने, “आज बोल्ने तिम्रो पालो । केवल दुई शब्द ।”

“ओछ्यान, उडुस,” शिष्यले भन्यो । 

“ए !” आचार्यले भने ।

आश्रमभरिका खाट, ओढ्ने ओछ्याउने सबै सफा गरियो, उडुस मार्ने औषधि छर्किइयो ।

अर्को १० वर्ष बित्यो । त्यही शिष्यको बोल्ने दिन आयो । आचार्यले भने, “थाहा छ नि ? केवल दुई शब्द मात्र है !”

साधुले भन्यो, “साह्रै पिरो !”

आचार्यले भान्सेलाई बोलाएर चेलाहरूको भोजनमा खुसार्नी कम हाल्न आदेश दिए । 

अर्को १० वर्ष बित्यो । त्यही साधु आचार्यसम्मुख उभियो ।  आचार्यले सोधे, “यसपटक के छ ?”

शिष्यले भन्यो, “आश्रम छोड्छु ।”

“हुन्छ, हुन्छ जाऊ,” गुरुले भने, “तिमीले यो आश्रम छाडेकै राम्रो । ध्यानमा मनै छैन । ३० वर्षदेखि गुनासोमाथि गुनासो थप्याथपै छ ।”

मेहनत

मार्सल आर्टको एउटा विद्यार्थी आफ्नो गुरुकहाँ गयो । उसले गुरुलाई विनम्रतापूर्वक सोध्यो, “म मार्सल आर्ट सिक्न प्रतिबद्ध छु । मलाई यसमा पूरै पारंगत हुनु छ । कति समय लाग्ला गुरु ?”

गुरुले उत्तर दिए, “१० वर्ष ।”

उत्तर सुनेर विद्यार्थी ज्यादै अधीर भयो । फेरि सोध्यो, “म यसमा १० वर्षअघि नै निपुण हुन चाहन्छु । यसका लागि बरु म कठोर परिश्रम गर्छु । म दिनदिनै अभ्यास गर्छु । यसका लागि १० घण्टा दिनु परे पनि मलाई केही छैन । यस्तो अवस्थामा कति समय लाग्ला ?”

गुरुले केही क्षण सोचेर भने, “त्यसो गर्‍यौ भने चाहिँ पक्कै पनि २० वर्षमा सिकिसक्छौ ।”

साँचो चमत्कार

बेन्केई नाम गरेका एक ख्यातिप्राप्त जेन गुरु रयुमो भन्ने ठाउँको मन्दिरमा जेन शिक्षा दिने गर्थे । शिन्शु सम्प्रदाय मान्ने एक पण्डित बेन्केईका अनुयायी बढ्न थालेपछि भित्रभित्रै ईष्र्या गर्थे । मौका पाउनेबित्तिकै शास्त्रार्थ गर्दै तिनलाई होच्याउन थाल्थे । शिन्शु सम्प्रदाय मान्ने पण्डितहरू भने ठुल्ठूलो स्वरले बौद्धमन्त्र उच्चारण गर्थे ।

एकदिन बेन्केई आफ्ना शिष्यहरूलाई पढाइरहेका थिए । त्यतिबेलै अचानक शिन्शु पण्डित त्यहाँ आइपुगे । शिन्शु पण्डितले आउनेबित्तिकै ठूलो ठूलो स्वरमा मन्त्रपाठ गर्न थाले । यो देखेर बेन्केईले आफ्नो काम बीचैमा रोके । बेन्केईले पण्डितलाई सोधे, “तिमीले खोजेको के हो ?”

शिन्शु पण्डितले भने, “हाम्रा गुरु यति दिव्यशक्ति सम्पन्न थिए कि उनी नदीको एउटा किनारामा ब्रस लिएर उभिए भने अर्को किनारामा उनका शिष्य कागज लिएर उभिन्थे । उनले हावामा ब्रस चलाउँदा अर्को किनारामा कागजमा आफैँ चित्र बन्थ्यो । तपाईं यस्तो गर्न सक्नुहुन्छ ?”

बेन्केईले नम्र भएर जवाफ दिए, “तपाईंको मठका बिरालाहरूले पनि त्यही गर्न सक्लान् तर यो शुद्ध जेन आचरण भने होइन । मेरो चमत्कार त भोक लाग्नु हो र भोक लागेपछि खाना खानु हो । मेरो चमत्कार त प्यास लागेपछि पानी पिउनु हो ।”

मौनताको मन्दिर

निर्वाण पाइसकेका सोइची जेन गुरु आफ्ना शिष्यहरूलाई तोफुकुस्थित एउटा मन्दिरमा पढाउने गर्थे । दिन होस् कि रात परोस्, मन्दिर परिसरमा सुनसान, शान्त र मौनताको बास हुन्थ्यो । कतैबाट पनि कुनै किसिमको मानवीय आवाज आउँदैनथ्यो ।

सोइचीले मन्त्रको जप र ग्रन्थ अध्ययन पनि बन्द गराइदिएका थिए । उनका शिष्यहरू मौन साधनामात्र गर्थे ।

सोइचीको निधन भएपछि छिमेकमा बस्ने एक महिलाले मन्दिरका घण्टी बजेको र मन्त्रपाठ भइरहेको पनि सुनिन् । महिलाले बुझिन्, सोइची गुरुको देहान्त भइसकेछ ।

(अच्युत कोइरालाद्वारा अनुवादित पुस्तक ‘जेनकथा’ पुस्तकबाट साभार)

ads